सेवाको गुणस्तरमा ध्यान दिन स्वास्थ्यकर्मीलाई मुख्यमन्त्री सिंहको निर्देशन
मलंगवा (सर्लाही)। मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले अस्पतालको सेवा, सुविधा र गुणस्तरमा ध्यान दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्। आज प्रादेशिक अस्पताल मलंगवाको नवनिर्मित भवन उद्घाटन गर्दै उनले स्वास्थ्यकर्मीलाई भगवान् रुपी संज्ञा दिएकाले त्यसैअनुसार काम गर्न आग्रहसमेत गरे।
मलंगवा प्रादेशिक अस्पतालले हाल प्रदान गरिरहेको नागरिकमैत्री सेवालाई कायम राख्न जस्तोसुकै समस्या पर्दा सहयोग गर्न प्रदेश सरकार तत्पर रहने प्रतिबद्धता उनले व्यक्त गरे।
प्रदेश सरकारको तीन करोड आठ लाख लागतमा निर्माण सम्पन्न तीनतले अस्पताल भवनको मुुख्यमन्त्री सिंह र प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले संयुक्त रुपमा आज उद्घाटन गरे।
आर्थिक वर्ष २०७८/७९ देखि निर्माण सुरु भएको उक्त भवन आव २०८०/८१ मा निर्माण सम्पन्न भएको थियो। प्रादेशिक अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहजता आउने कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन्।
Facebook Comment