भीम रावललाई घनश्यामले भने- एमालेमा उकुसमुकुस थियो, अब नेकपा एसमा आउनुहोस्
काठमाडौं । नेकपा एमाले पार्टीबाट निस्कासित भएका डा. भीम रावललाई नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)मा आउन घनश्याम भुसालले आह्वान गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रावललाई नेकपा एसमा आउन आह्वान गरेका हुन्।
एमालेभित्र अहिले धेरै उकुसमुकुस रहेको भन्दै उनले अन्य नेताहरू पनि एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताए। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी नेतृत्वबाट हटे मात्र एमालेभित्रको उकुसमुकुस शान्त हुने उनको भनाइ छ।
उनले भने, ‘भीम रावल कमरेड त्यहाँबाट निक्लिनुभयो वा निकालियो, त्यो अवस्था छँदै थियो। नेकपा एमालेभित्र प्रश्न उठाएपछि मैले धेरै अघि भनेको थिए। त्यतिखेर व्यक्तिगत विरोध, प्रतिशोधका रूपमा लिइयो। कमरेड केपी ओलीका लागि संसारमा दुई खालका मान्छे छन्। एक खालका मान्छे उहाँका शत्रु हुन्। अर्का खालका मान्छे चाकर हुन्। भीम रावलले चाकरी गरेनन्।’
बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको थियो।
Facebook Comment