मोन्टी देसाइको प्रशिक्षणमा भारतलाई हराउने त्यो टोली, जहाँबाट आए एनपीएलका पाँच कप्तान

डिसी नेपाल
१४ पुष २०८१ ११:२३

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइको कार्यकाल लगभग सकिन लागेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनको सम्झौता नवीकरण नगर्ने जनाएको छ । यससँगै एक सफल प्रशिक्षले नेपाली राष्ट्रिय टोलीबाट विदा हुने समय नजिकिएको छ ।

पछिल्लो समय अमेरिका र वेस्ट इण्डिजमा भएको टि–२० विश्वकपयता नेपाली टोलीको प्रदर्शन सन्तोषजनक हुन नसकेको भन्दै क्यानले प्रशिक्षक देसाइको सम्झौता नवीकरण गर्नेचर्फ चासो देखाएको छैन । तर, मोन्टी नेपाली टोलीका लागि एक सफल प्रशिक्षक हुने जसले नेपाली टोलीको साथमा धेरै ठूला सफलताहरु हासिल गरेका छन् ।

देसाइ नेपाली टोलीको प्रशिक्षक भएर आउँदा नेपाल २०२३ को एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन निकै कठिन अवस्थामा पुगिसकेको थियो । त्यतिबेला नेपालले विश्वकप लिग–२ का २४ खेल खेलिसकेको थियो र केवल ८ खेल जितेको थियो ।

त्यतिबेला नेपालले १२ खेल खेल्न बाँकी थियो र विश्वकप ग्लोबल क्वालिफायरमा पुग्न बाँकी १२ खेलमध्ये ११ खेल जित्नैपर्ने थियो । यस्तो कठिन समयमा आएका प्रशिक्षक देसाइको प्रशिक्षणमा नेपालले त्यो चमत्कार गरेरै छाड्यो । १२ खेलमध्ये युएइमा युएइविरुद्धकै एउटा खेल हारेको नेपालले बाँकी सबै खेल जित्यो र ग्लोबल क्वालिफायरमा सिधै छनोट भयो ।

त्यसयता प्रशिक्षक देसाइकै प्रशिक्षणमा नेपाल पहिलो पटक सिनियर एसिया कपमा छनोट हुन सफल भयो जहाँ नेपाली टोलीले भारत र पाकिस्तानजस्ता क्रिकेटका दिग्गज टिमसँग खेल्ने अवसर पायो । यी टिमसँग सिरिज खेल्न सक्ने हैसियतमा पुग्न नसकेको नेपाल एसीसी प्रतियोगितामा यी देशविरुद्ध खेल्यो ।

देसाइकै प्रशिक्षणमा नेपालले टि–२० विश्वकपमा समेत छनोट हुन सफल भयो । नेपाल टि–२० विश्वकपमा पछिल्लो पटक २०१४ मा पुगेको थियो । दोस्रो पटक नेपाललाई विश्वकपको मञ्चमा पुग्न १० वर्ष लाग्यो । र, यो सफलता प्रशिक्षक देसाइकै प्रशिक्षणमा सम्भव भयो ।

भारतलाई हराउने त्यो टोली जहाँबाट एनपीएलले पायो पाँच कप्तान

नेपालको सिनियर क्रिकेट टोलीले भारतलाई हराउन सकेको छैन । तर, अण्डर १९ उमेर समूहको खेलमा भने नेपालले भारतलाई हराएर इतिहास रचिसकेको छ । २०१७ को नोभेम्बर १२ मा मलेसियाको बायुमास ओभलमा भएको यु–१९ एसिया कपमा नेपालले भारतलाई १९ रनले हराएको थियो ।

यो त्यही मैदान हो जहाँ नेपालको महिला अण्डर १९ टोलीले केही दिनअघि पाकिस्तानलाई हराउँदै अर्को इतिहास लेखे । र, त्यतिबेलाको नेपालको अण्डर १९ टिमको ब्याटिङ प्रशिक्षक अहिले सिनियर टोलीका मुख्य प्रशिक्षक रहेका मोन्टी देसाइ नै थिए ।

नेपालको त्यितिबेलाको अण्डर १९ टोली दिपेन्द्र सिंह ऐरीको कप्तानीमा खेलेको थियो । भारतविरुद्धको खेलका हिरो समेत दिपेन्द्र नै थिए । उनले ब्याटिङतर्फ १०१ बलमा ८८ रन बनाएका थिए । उनले बलिङतर्फ १० ओभरमा २ ओभर मेडन राख्दै केवल ३९ रन दिएर ४ विकेट लिएका थिए । उनी यसै वर्ष भएको नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सको कप्तान थिए ।

मोन्टी देसाइको कप्तानीमा भारतलाई हराउने टोलीका कप्तान दिपेन्द्र मात्रै होइन त्यो टोलीबाट खेलेका ५ खेलाडी यस वर्षको नेपाल प्रिमियर लिगमा फरक फरक टिमका कप्तान थिए । फाइनलमा हारेर दोस्रो हुने सुदूरपश्चिमका कप्तान दिपेन्द्र मात्रै होइन एनपीएलको उपाधि जित्ने टोली जनकपुर बोल्ट्सका कप्तान आसिफ शेख पनि भारतलाई हराउने टोलीका खेलाडी थिए ।

आसिफ शेख जनकपुरका नियमित कप्तान थिएनन् । जनकपुरका नियमित कप्तान अनिल कुमार साह घाइते भएर खेल्न नसक्ने भएपछि टोलीले आसिफलाई नियमित कप्तानको जिम्मेवारी दिएको थियो । जनकपुरका नियमित कप्तान अनिल कुमार साह पनि भारतलाई हराउने टोलीका खेलाडी थिए ।

यी तीन कप्तानबाहेक अन्य २ कप्तानहरु पनि भारतलाई हराउने टोलीका सदस्य थिए । अहिलेको नेपाली सिनियर राष्ट्रिय टोलीका कप्तान तथा एनपीएलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल पनि भारतलाई हराउने टोलीका खेलाडी थिए । उनका साथै राष्ट्रिय टोलीका पूर्वकप्तान तथा एनपीएल टिम विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने पनि भारतविरुद्ध त्यो खेल खेलेका थिए । यल्वि पौडेल र लामिछानेको टोली एनपीएलमा प्लेअफ पुग्न सकेनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *