सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत केरा खेतीबाट ३० हजार आम्दानी
छापडाँडा, स्याङ्जा । सिक्दै कमाउदै कार्यक्रम अन्तर्गत व्यवसायिक केरा खेतीबाट कोटाकोट आधारभुत विद्यालय कालिगण्डकी-१ छापडाँडा स्याङ्जाले यस वर्ष ३० हजार आम्दानी गरेको छ ।
केरा खेतीसँगै खुर्सानी र फूलको समेत एकीकृत रुपमा खेती गरेको यस विद्यालयले केरा, खुर्सानी र फूलको बिक्रीबाट यो आम्दानी गरेको विद्यालयका प्रधानाध्यापक पर्थ थापाले बताए । प्रधानाध्यापक थापाका अनुसार २०८० सालको बैशाखमा शुरु गरेको केरा खेतीले यस वर्षको दसै देखि उत्पादन दिन थालेको हो ।
विद्यालयका शिक्षक एवं विद्यार्थीहरुले ४ बजेसम्मको पढाईपछि र शुक्रबारे अतिरिक्त कृयाकलाप तथा परियोजना कार्य अन्तर्गत व्यवसायिक केरा खेतीको मलजल र हेरचाह गर्ने गर्दछन् । कक्षा १ देखि कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयका विद्यार्थीहरु मध्ये विशेष गरि ५ कक्षा देखि ८ कक्षासम्मका विद्यार्थीहरु केराबारीमा गएर प्रयोगात्मक कार्य अन्तर्गत केरा खेतीमा काम गर्ने गर्दछन् ।
विभिन्न हस्तकला सामग्री निर्माणको लागि गाउँपालिकाले केराको थामहरु समेत खरिद गर्ने गरेकोले खेर गईरहेको केराको थामबाट पनि आम्दानी हुन थालेपछि शिक्षक विद्यार्थीहरु थप उत्साहित भएका छन् । यस्तै विद्यालयले उत्पादन गरेको उक्त केराहरु बिक्रिवितरण हुन नसकेको अवस्थामा विद्यालयमै दिवा खाजाको रुपमा खपत गर्ने योजना बनाएको प्रधानाध्यापक पर्थ थापाले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष खिम बहादुर थापाका अनुसार कोटाकोट आधारभुत विद्यालयलाई कालिगण्डकी गाउँपालिका स्याङ्जाले आर्थिक वर्ष २०७९/०८० को नवप्रवर्धन कार्यक्रम अन्तर्गत शतप्रतिशत अनुदानमा ३७७ वटा (झापाली माल्भोक प्रजातीको १०० र जि नाइन प्रजातीको २७७ वटा) केराको बिरुवा उपलब्ध गराएको थियो । उक्त केराको विरुवाहरु साढे ३ रोपनी जग्गा ५ वर्षको लागि लिजमा लिएर व्यवसायिक केरा खेती शुरु गरेको विद्यालयले जनाएको छ ।
कोटाकोट आधारभुत विद्यालय स्याङ्जाको यो नमुना कार्यलाई अन्य विद्यालयहरुले पनि अनुसरण गर्न सकेमा उक्त विद्यालयहरुको लागि समेत आन्तरिक आम्दानी गर्ने उत्तम माध्यम बन्न सक्नेछ ।
Facebook Comment