पाकिस्तानमा जवाफी आक्रमण गरेको अफगानिस्तान तालिवानको दाबी

डिसी नेपाल
१४ पुष २०८१ १६:३६

काठमाडौं । अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानविरुद्ध जवाफी कारबाही गरेको दाबी गरेको छ ।

तालिबान रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खावारिज्मीले बीबीसी पश्तोलाई भने “प्रतिशोधमा, अफगानिस्तान विरुद्ध आक्रमणको तयारी भइरहेको ठाउँमा मानिसहरू र लक्ष्यहरूलाई निशाना बनाइएको थियो।”

यद्यपी यो आक्रमण कस्तो थियो र के कति क्षति भयो भन्ने खुल्न सकेको छैन । यस विषयमा पाकिस्तानी सेना र विदेश मन्त्रालयले अहिलेसम्म केही बोलेको छैन । बीबीसीले सेना र परराष्ट्र मन्त्रालयलाई पटकपटक सम्पर्क गरे पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

अफगानिस्तानको रक्षा मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा पाकिस्तानी सेनाले अफगानिस्तानको पक्तिका प्रान्तको बर्माल जिल्लामा रहेको हवाई क्षेत्रको उल्लंघन गरी शरणार्थी शिविरमा बमबारी गरेको थियो, जसमा कैयौँ व्यक्तिको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले बिहीबार यसको पुष्टि गरेकी छन्। पाकिस्तान–अफगानिस्तान सीमानाका क्षेत्रमा गुप्तचरको आधारमा अपरेशन गरिएको उनले बताइन् । उनले पाकिस्तानी नागरिकको सुरक्षालाई यसको कारण बताए ।

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको आक्रमणको विरोध गर्दै अफगानिस्तानले क्षेत्रीय सार्वभौमसत्ताको रक्षालाई आफ्नो अधिकार ठानेको र त्यसको जवाफ दिने बताएको छ।

अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध राम्रोसँग चलिरहेको छैन । पाकिस्तानले बारम्बार तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी)ले अफगानिस्तानको भूमि पाकिस्तानविरुद्ध प्रयोग गरिरहेको भन्दै आएको छ। तर, तालिवान सरकारले यो आरोप अस्वीकार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *