मेलबर्न टेस्टमा भारत १८४ रनले पराजित
काठमाडौं । मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १८४ रनले पराजित गरेको छ । योसँगै अष्ट्रेलियाले बोर्डर–गावस्कर ट्रफीमा २–१ को अग्रता बनाएको छ ।
अस्ट्रेलियाले भारतलाई जितका लागि ३४० रनको लक्ष्य दिएको थियो तर भारतीय टोली १५५ रनमै सीमित भयो ।
भारतका लागि दोस्रो इनिङ्समा ओपनिङ ब्याट्सम्यान यशस्वी जैसवालले सर्वाधिक रन बनाए । उनले ८४ रनको इनिङ खेले । उनी बाहेक ऋषभ पन्तले ३० रनको इनिङ खेले ।
यी दुई ब्याट्सम्यान बाहेक अन्य कुनै पनि भारतीय ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
अष्ट्रेलियाका लागि कप्तान प्याट कमिन्स र स्कट बोल्याण्डले सर्वाधिक विकेट लिए । दुवै बलरले तीन–तीन विकेट लिए । उनका अलावा नाथन लियोनले २ तथा मिचेल स्टार्क र ट्राभिस हेडले एक एक विकेट लिए ।
चौथो दिनको खेल समाप्त हुँदा अष्ट्रेलियाले ९ विकेट गुमाएर २२८ रन बनाएको थियो । पाँचौं दिनको सुरुमा अष्ट्रेलियाको टोली ६ रन जोडेर २३४ रनको स्कोरमा अलआउट भएको थियो र भारतलाई ३४० रनको लक्ष्य दिएको थियो ।
यस खेलमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अष्ट्रेलियाले पहिलो इनिङ्समा ४७४ रनको ठूलो स्कोर बनाएको थियो, जसको जवाफमा भारतले पहिलो इनिङ्समा ३६९ रन बनाएको थियो ।
पहिलो इनिङ्समा अस्ट्रेलियाका लागि स्टिभ स्मिथले शतक प्रहार गरे भने भारतका लागि नितिश कुमार रेड्डीले करियरको पहिलो शतक बनाए ।
Facebook Comment