मनमोहन सिंहको निधन र नेपाल भारत सम्बन्धमा प्रश्न
काठमाडौं। भारतले भ्रमणका लागि औपचारिक निम्तो नदिँदा भारत भ्रमणमा जान नपाएपछि बिच्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको निम्तोबिनै भारतसँग सम्बन्ध सुधार गर्ने अवसरलाई बेवास्ता गरेका छन्।
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको शोक सभामा कुनै प्रतिनिधि नपठाएर नेपाल सरकारले भारतसँगको सम्बन्धलाई थप बिगार्ने जोखिम बढाएको छ।
दुई पूर्ण कार्यकाल भारतको प्रधानमन्त्री रहिसकेका मनमोहन सिंहप्रति नेपाल सरकारले मात्रै नभइ सत्ता साझेदार नेपाली कांग्रेसले समेत उदासीपूर्ण व्यवहार गरेको छ। सिंहले नेपालका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति गर्ने सम्मानको उचित जवाफ दिन नेपाली कांग्रेस समेत चुकेको छ।
मनमोहन सिंहको बिहीबार बेलुका दिल्लीको एम्स अस्पतालमा निधन भएको थियो। उनको शनिबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको थियो। उनको निधनको शोकमा भारत सरकारले देशभर ७ दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ।
यद्यपि छिमेकी देश नेपालको तर्फबाट भने प्रधानमन्त्रीले एउटा शोक वक्तव्य जारी गरेका थिए। साथमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले लैनचौरस्थित भारतीय दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन्।
भारत सरकारको तर्फबाट नेपालका पूर्व प्रधानमन्त्रीको निधनमा गरिएको व्यवहार हेर्दा नेपाल सरकारको कूटनीति कमजोर देखिएको भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय बताउँछन्।
‘शोकको बेलामा सहभागी भएको भए राम्रो हुन्थ्यो’ उनले भने ‘सरकारको मात्रै नभएर पार्टी-पार्टीबीचको सम्बन्धमा आधारमा नेपालका राजनैतिक दलको तर्फबाट भए पनि प्रतिनिधित्व भएको भए राम्रो हुन्थ्यो तर त्यसो हुन सकेन।’
केही दिनअघि मात्रै एउटा गैर सरकारी संस्थाको कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत पुगेकी थिइन्। तर, पूर्व प्रधानमन्त्रीको शोक सभामा भने कुनै पनि प्रतिनिधि सहभागी नहुँदा नेपालको छिमेकीसँगको कूटनीति कमजोर देखिएको विश्लेषण गरिएको छ।
मनमोहन सिंहको नेपालप्रतिको दृष्टिकोण र उनले नेपालका नेतालाई दिएको सम्मान हेर्दा पनि उनको शोक सभामा प्रतिनिधि उपस्थित भएको भए राम्रो हुने पूर्व राजदूत उपाध्याय बताउँछन्।
उपाध्यायका अनुसार नेपालले संविधान जारी गर्दा तत्कालीन भारतको मोदी सरकारले विरोध गरेको भए पनि पदबाट हटिसकेका पूर्व प्रधानमन्त्री सिंह भने नेपालको संविधानप्रति सकारात्मक थिए।
‘हामीले निकै मेहनत गरेर हाम्रो संविधानको अंग्रेजी प्रति उहाँलाई उपलब्ध गराएका थियौं’ त्यो समयमा भारतको लागि नेपालका राजदूत रहेका उपाध्यायले त्यतिबेलाको घटना स्मरण गर्दै भने ‘उहाँले संविधान निकै राम्रो बनेको रहेछ भनेर प्रशंशा गर्नुभयो।’
नेपालको शान्ति प्रक्रिया चलिरहेका बेला भारतको प्रधानमन्त्री रहेका सिंहले नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई निकै सम्मान गरेका थिए।
कोइराला भारत भ्रमणमा जाँदा सिंह विमानस्थलमै लिन आएका थिए। अर्को देशको सरकार प्रमुख आफ्नो देशको भ्रमणमा आउँदा स्वयं भारतका प्रधानमन्त्री विकानस्थल पुगेको यो अत्यन्तै दुर्लभ घटना हो। सामान्यतया भारतका प्रधानमन्त्री यसरी स्वागत गर्न विमानस्थल जाँदैनन्।
गिरिजाप्रसाद कोइरालाको निधन भएपछि उनको अन्त्येष्टिमा पनि सिंहले आफ्ना सिनियर मन्त्रीहरु सहभागी प्रतिनिधिमण्डल पठाएका थिए। कोइरालाको अन्त्येष्टिमा सिंहले आफ्ना विदेशमन्त्री एसएम कृष्णा, अर्थमन्त्री प्रणव मुखर्जी र लोकसभा अध्यक्ष मीरा कुमारसहितको प्रतिनिधिमण्डल पठाएका थिए। त्यतिबेला अर्थमन्त्रीको रुपमा नेपाल आएका मुखर्जी पछि भारतको राष्ट्रपति समेत बने।
सिंहको शोक सभामा नेपालको प्रतिनिधिमण्डल नपठाएर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले औपचारिक भ्रमणको निम्तो नदिएको रिस फेरेको हुनसक्ने पनि कतिपयले अनुमान गरेका छन्। तर, भारतले भने आफ्नो असहमति र सम्बन्धमा तिक्तता हुँदा पनि शोकको समयमा यस्तो व्यवहार गरेको थिएन।
नेपालले २०७२ मा संविधान जारी गरेपछि भारत बिच्किएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालीन विदेश सचिव एस जयशंकरलाई नेपाल पठाएर संविधान जारी नगर्न दबाब दिएका थिए।
तत्कालीन विदेशमन्त्री सुषमा स्वराजले लोकसभामा भाषण गर्दै नेपालको संविधानले विवाह गरेर नेपाल आउने भारतीय महिलालाई नागरिकताबाट बञ्चित गरेको दावी समेत गरेकी थिइन्।
संविधान जारी गर्ने बेला नेपाल सरकारको नेतृत्व सुशील कोइरालाले गरेका थिए। भारतले दिएको दबाबका बीच भारतको कुरालाई बेवास्ता गर्दै संविधान जारी गरेका प्रधानमन्त्री सुशील कोइरालासँग भारतको सम्बन्ध राम्रो थिएन। तर, कोइरालाको निधनमा भारतकी विदेशमन्त्री सुषमा स्वराज स्वयं अन्त्येष्टिमा सहभागी हुन आएकी थिइन्। नेपाल भने त्यो तहको कूटनैतिक शिष्टाचारबाट चुकेको छ।
सरकार मात्रै नभएर राजनैतिक दलसमेत सिंहलाई दिनुपर्ने सम्मान दिएर छिमेकी मुलुकसँगको सम्बन्धलाई दिगो बनाउने अवसरबाट चुकेका छन्।
आफ्ना पार्टी सभापति तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई विमानस्थलमै लिन आएका तथा सार्वजनिक रुपमै कोइरालालाई दक्षिण एसियाकै ठूलो नेताको रुपमा सम्बोधन गरेका सिंहलाई नेपाली कांग्रेसले समेत बेवास्ता गरेको छ।
‘शोकमा सहभागी हुन पार्टीको तर्फबाट प्रतिनिधि पठाउन सकेको भए राम्रो हुने थियो’ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले डिसीनेपालसँग भने, ‘तर हामीले त्यसो गर्न सकेनौं। गरेको भए राम्रो हुने थियो तर ध्यान पुग्न सकेन।’
Facebook Comment