दक्षिण कोरिया विमान दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले के भन्छन् ?
काठमाडौं । दक्षिण कोरियामा आइतबार भएको भयानक विमान दुर्घटनामा १७९ जनाको ज्यान गएको छ । मृतकका परिवारले मिडियासँग कुरा गरेका छन् ।
यस दुर्घटनामा ७८ वर्षीय माङ गि-सुका भतिजा र भतिजाका दुई छोराको पनि मृत्यु भएको छ । उनका भतिजाका दुई सन्तान कलेजको प्रवेश परीक्षा सकिएकोमा खुसी मनाउँदै थिए ।
माङले बीबीसीलाई भने, “पूरै परिवार ध्वस्त भएको म विश्वास गर्न सक्दिन।” जेजु एयरमा सवार धेरै यात्रु थाइल्याण्डमा क्रिसमस मनाएर घर फर्किरहेका थिए ।
दुर्घटनामा परी मृत्यु भएका मध्ये एककी काकी जोङलुक डोङमानीले बीबीसी थाईलाई यो खबर सुनेपछि आफू स्तब्ध भएको बताइन्।
७१ वर्षीय वृद्ध बुबा जिओन जे-यंगले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार उनकी छोरी मी-सुकलाई उनको औंलाको छापबाट पहिचान गरिएको थियो। उनी आफ्ना साथीहरूसँग बैंककबाट फर्कदै थिइन् ।
जिओनले भने, “मेरी छोरी करिब ४० वर्षकी थिइन्। अन्तिम पटक मैले मेरी छोरीलाई डिसेम्बर २१ मा देखेको थिएँ। त्यतिबेला उनी अर्को वर्षको क्यालेन्डर र खाना लिएर घर आइन्। यो हाम्रो अन्तिम भेट भयो।”
एक महिलाले आफ्नी बहिनीको बारेमा कुरा गर्दै आफू कठिन समयबाट गुज्रिरहेको बताइन्। उनको जीवनमा सुधार हुन थालेको कारण उनी थाइल्याण्ड गएकी थिइन्।
“उनले धेरै कठिनाइहरूको सामना गरेर यात्रामा गइन् किनभने उनको अवस्था भर्खरै सुधार हुन थालेको थियो,” उनले दक्षिण कोरियाको राज्य समाचार एजेन्सी योनहापलाई भनिन् ।
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार अवतरण गर्ने क्रममा ठूलो विमान दुर्घटना भएको हो । जसमा १७९ जनाको मृत्यु भएको थियो ।
यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए ।
यस दुर्घटनामा दुई जनालाई भग्नावशेषबाट जिउँदै निकालेर अस्पताल लगिएको छ । उनीहरु दुवै चालक दलका सदस्य हुन् ।
Facebook Comment