अजरबैजानको विमान दुर्घटनामा जिम्मेवारलाई सजाय दिने रूसको आश्वासन

डिसी नेपाल
१६ पुष २०८१ १४:४४

काठमाडौं । रुसले अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा जिम्मेवार व्यक्तिहरूको पहिचान गरी सजाय दिने आश्वासन दिएको अजरबैजानले सोमबार बताएको छ।

अजरबैजानले डिसेम्बर २५ मा कजाकस्तानमा क्र्यास ल्यान्डिङ गर्नुअघि यो विमानलाई रुसी वायु सुरक्षाले निशाना बनाएको बताएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार अजरबैजानका अभियोजक जनरलले एक विज्ञप्तिमा भनेका छन्, ‘रसियाले बाकुलाई ‘दोषीहरूको पहिचान गर्न र उनीहरूलाई आपराधिक सजायको दायरामा ल्याउन गम्भीर प्रयास भइरहेको छ’ भन्ने जानकारी दिएको छ।’

यस दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो। दुर्घटनाको समयमा अजरबैजान एयरलाइन्सको एम्ब्रेर विमान तीव्र गतिमा ओर्लिएको थियो र अक्ताउ विमानस्थलको धावनमार्गबाट ​​३ किलोमिटर टाढा खसेर आगो लागेको थियो ।

दुई दिनअघि शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँग विमान दुर्घटनाका लागि माफी मागेका थिए तर जिम्मेवारी भने लिएका थिएनन् ।

अलिएभले मस्कोले दुर्घटनामा आफ्नो संलग्नता लुकाएको आरोप लगाए। अलिएभले पुटिनको माफी स्वीकार गरे पनि रुसले आफ्नो दोष स्वीकार गरी क्षतिपूर्ति दिनुपर्ने बताए। अजरबैजानको सरकार समर्थक वेबसाइटले विमानलाई रुसी मिसाइलले खसालेको दाबी गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *