पृथ्वीविचार नेपालको समावेशी धार
पृथ्वीविचार आधुनिक नेपालको पहिलो समावेसी धार हो। नेपाल सबै जातको फूलबारी भनेर उद्घोष गर्ने पृथ्वीविचार आफैंमा समावेसी विचार हो समावेसी धार हो र मात्र कुनै जातिविशेषको अधिपत्य माथिको प्रहार हो। नेपालको समावेसी धार पृथ्वीविचार बारे सामान्य छलफल चर्चा गरौं।
पृथ्वीनारायण शाह समावेसी धारका यसकारण स्वभाविक नेता हुनुको मूल आधार र कारण हो उनले नेपाल एकिकरणमा सर्वसहभागिताको सफल प्रयोग गरेका थिए। सर्व सहभागिताका सफल नेताले समावेसी राज्यव्यवस्थाको गठन तथा सन्चालनमा जोड दिनु यसकारण पनि स्वभाविक छ।
नेपाल आफैमा सर्व सहभागिताको श्रृजना हो समावेसी नेपालीको वरदान हो। यसो हुनुमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको फराकिलो विचार र नेतृत्वको देन हो जसले नेपालको यथार्थतालाई बुझेर समावेसी गर्दै नेपाल शक्तिलाई संगठित गरे।
योग्य, इमानदार, क्षमतावान् व्याक्तिको उचित कदर गर्ने मूल्यांकन र जिम्मेवारी दिने पृथ्वीनारायण शाह हरेक जात जातिमा यो खोज्थे। उनको यो पहिलो प्राथमिकता थियो। उनी हचुवाको भरमा कसैलाई जिम्मेवारी दिँदैनथे।
उनले व्याक्तिको योग्यता क्षमताको अलावा उसको र परिवारको पृष्ठभूमी समेत हेरेर कामको जिम्मेवारी दिने गर्दथे। यसलाई नीतिको रुपमा अघि लाने विचार अघि सारेका छन्। राज्य सञ्चालनको क्षेत्रमा होस् या राजनीति सञ्चालनको क्षेत्रमा होस् प्रशासनिक क्षेत्रमा या प्राविधिक क्षेत्रमा होस् योग्य र जिम्मेवार व्याक्ति भएनन् भने राज्य असफल भएर समाप्त हुनसक्छ।
नेतृत्व मात्र इमान्दार भएर हुदैन मातहतका सबै संयन्त्र पनि इमान्दार र जिम्मेवार भए मात्र चौतर्फी सफलता हात लाग्दछ। जनमुखी राजनीति जनमुखी प्रशासन तव मात्र प्रभावशाली र पूर्ण हुन्छ जव यो सबै समावेसी भएको हुन्छ। यो आफैमा पृथ्वीविचारको सशक्त धार हो।
नेपाल सबै जातको साझा फूलबारी हो भन्ने पृथ्वीनारायण शाह व्यवहारमा पनि त्यसरी नै अभिव्यक्त भएका छन् र विचार पनि त्यही अनुरुप अघि सारेका छन्। राज्य सञ्चालनका सबै क्षेत्रमा नेपाली विशेषता र आवश्यकता जाहेर हुने गरी बहुजातीय उपस्थिति र जिम्मेवारी व्यवहारिक किसिमले हुनुपर्छ भन्ने विचार नै समावेसी पृथ्वीविचार हो भनेर बुझिनु पर्दछ। यो व्यवहारबाटै खारएको र विकसित भएको विचार हो।
माथि भनिए जस्तै नेपाल राष्ट्रको एकिकरण बहुजातीय सहयोग र सहभागितामा पृथ्वीनारायण शाहले सफलताको साथ अगाडी बढाएको र सफलता हात लगाएको हुनाले यो त्यसैको व्यवहारिक अनुभवको निचोड विचार समेत हो।
साँचो अर्थको सबै जातको साझा फूलबारी सबैको हक र हैसियतत बराबरी सबै क्षेत्रमा समान किसिमले बहुजातीय जिम्मेवारी भन्ने नै हो यसको अक्षर र भावना। यसो हुन सकेमा मात्रै सबै जातको साझा फूलबारी भन्नु सार्थक हुनेछ।
तथ्यले यही भन्छ युद्धको मोर्चामा होस् या प्रशासनिक मोर्चामा होस् पृथ्वीनारायण शाहले जनजातिहरुलाई जहिल्यै उच्च महत्व दिएको पाइन्छ। जनजातिको इमान्दारी र देशभक्तिप्रति विश्वास र भरोषा गरेको पाइन्छ। साँचो र व्यापक अर्थमा सबै जातका इमान्दार देशभक्त नेपालीप्रति मात्र पृथ्वीनारायण शाहको विश्वास र भरोषा भएको पाइन्छ।
“अदालतमा पनि ठकुरी जाँची डिठा राख्नु,मगर जाँची विचारी थाप्नु,कचहरीपिछे यक्यक् पण्डित. राषी निञा सास्त्र बमोजिम अदालथ चलाउनू”। प्रमाण अरु खोजीरहनु पर्दैन पृथ्वीनारायण शाहले राज्यका अंगमा यसरी बहुजातीय उपस्थिति वा जिम्मेवारीको निर्देशन दिएका छन्।
उनले निरपेक्ष जातीयताको निर्देशन दिएका छैनन्। सँगसँगै उनले बौध्दिक,पठित,शिक्षित या प्राज्ञिक याने क्षमतावानलाई अनिवार्य बनाउन चाहेको देखिन्छ। अर्थात हरेक क्षेत्रमा सम्बन्धित क्षेत्रको विशेषज्ञ वा विज्ञ राख्नै पर्ने उनको निर्देशन विचार छ। उनले भनेको पण्डितको अर्थ र आशय यही हो।
“लषनै बाट तीन मुसल्मां मेरो चाकरीलाई नुवाकोटमा पिछा परि अयाका थिया ईनै बन्दुकको तुल कलायेत तिनै मुसल्मांनले जान्या को रहे छ …र तिनै जनालाई अजिटनी दिया र तिलङ्गा सधाया को हो .” यसले पनि प्रमाणित गर्दछ कि पृथ्वीनारायण शाह जातीय हिसावले मात्र होइन धार्मिक हिसावले पनि समावेसी थिए।उनी एक हिन्दु राजा थिए। तर उनले मुसलमानलाई रणनीतिक हिसाबको महत्वपूर्ण सैनिकको प्राविधिक क्षेत्रको जिम्मेवारी दिए। उनले राज्यको अंगमा हिन्दु धर्मवाला मात्रै खोजेनन्, मुसलमान भनेर लखेटेनन्।
बरु जिम्मेवारी दिए। नेपालको एकिकरण देखि नै पृथ्वीनारायण शाहको नेतृत्व र निर्देशन मानेर एकिकरण अभियानमा मुसलमानको समेत योगदान निरन्तर रहेकोले नेपालका मुसलमान देशभक्त भइरहेका हुन् र उनीहरु अतिवादी धारमा कहिल्यै नगएका हुन्।
नेपाल बाहिरका भारत, पाकिस्तान, बंगलादेश लगायत अन्य मुलुकका मुसलमान अंग्रेज र पश्चिमा शक्तिले खेलाएकाहरु अतिवादी धारमा गएका छन् भने पृथ्वीनारायणले सदाएका नेपाली मुसलमान देशभक्त र नेपालवादी मात्र भएका छन्। यसैको कारण हो नेपालमा हिन्दु र मुसलमानको कहिल्यै द्वन्द नभएर एकता र सहकार्य भइरहन सकेको हो।
सवाल उठ्न सक्छ यदि पृथ्वीनारायण शाह धार्मिक क्षेत्रमा पनि समावेसी थिए भने उनले कृश्चियन पादरी लगायत अन्य कृश्चियन धर्मावलम्वीहरुलाई किन लखेटे वा देश निकाला गरे त ? यसले पृथ्वीविचार धार्मिक क्षेत्रको समावेसी धार होइन भन्ने कुराको पुष्टि गर्दैनर ? गर्दैन, किनभने उनले विशुध्द कृश्चियन धर्मावलम्वीलाई लखेटेका वा देश निकाला गरेका होइनन्।
कृश्चियन धर्मको आवरणमा पश्चिमाहरुको राजनीतिक,साँस्कृतिक, आर्थिक, धार्मिक सबै क्षेत्रमा अधिपत्य जमाएर सबैलाई गुलाम बनाउने रणनीतिक स्वार्थ र षडयन्त्रलाई मात्र उनले डाँडो कटाएका हुन्। नेपाल एकीकरण बिरिोधि षडयन्त्रमा सामेल भएकोले पनि उनीहरु दण्डित भएका हुन्। उनी समावेसी धारका भएकोले नै अन्य धर्म पनि नमरुन् फष्टाउन् भनेर नै आ आफ्नो कूल धर्म नछोड भनेर निर्देशन विचार अघि सारेका हुन्।
“गुरुं,मगर, षानज्यादा,भैयाद,भारदार,मीरउमराउ,थरघर र पुराना पुराना जाँची घुँडा गौंडामा राषनु। पाँडे, बस्न्यात, पन्थ, भैयाद मग्रलाई मारातप् दिँदा आलोपालो गरि खान दिनु। पट्टी पट्टीमा सिपाही पनि षस, गुरुङ,ठकुरी, मगर यिनै ४ जात मात्रै पिचोला गरिहाल्नु”।
पृथ्वीनारायणका आदि उद्गारबाट के स्पस्ट पृथ्वीनारायण शाह एकाधिकारवाद र एकजातीयवादका विपक्षमा उभिएका थिए। सबै जातजातिको सबै स्थान र क्षेत्रमा समान पहुच र समान उपस्थिति हुनुपर्छ भन्ने जातीय समानता र जातीय भाइचाराको जातीय एकताको जातीय जनवाद पनि हो पृथ्वीविचार ।
राज्य सञ्चालनका सबै तह र क्षेत्रमा सबै जात, धर्म, लिंग र क्षेत्रको सन्तुलित उपस्थिति हुनुपर्छ भन्ने पृथ्वीविचार नेपाली विशेषताको समावेसी धारको फूलबारी प्रजातन्त्र हो। नेपाल जस्ता बहुभाषीय,बहुजातीय,बहुसाँस्कृतिक विशेषता भएको मुलुकमा सबैको सबै तहमा समान पहुँच हुन सकेमा मात्रै नेपाली राष्ट्रियता बलियो हुन्छ भन्ने सार र धार हो पृथ्वीविचारको।
यस अर्थमा पृथ्वीविचार सर्वसहभागिताको सहमतिको राष्ट्रिय प्रजातन्त्र पनि हो। जातीय एकाता र जातीय समानताको नेपाली विशेषताको व्यवहारवादी पृथ्वीविचार जातीय समानता र जातीय एकताको कुरा उठाउने विश्वभरका मान्छेहरुको लागि मार्गदर्शक विचार हुनसक्छ। यो एकाधिकारवादी विरोधी, विखण्डनवादी विरोधी, साम्प्रादायिकता विरोधी साँचो अर्थको राष्ट्रिय एकता र समानताको विचार हो।
पृथ्वीनारायण शाह र उनको नेतृत्वमा भएको नेपाल एकिकरण अभियान वा नेपाल एकीकरणलाई संकिर्ण मानसिकता बोकेर संकिर्ण नजरले हेर्ने वाह्य निर्देशित पूर्वाग्रहीहरुले पृथ्वीविचार बुभ्mन सक्तैनन्। पृथ्वीविचार बुझ्न नसक्नेहरुले नेपाली विशेषताको राष्ट्रिय सहमतिको फूलबारी प्रजातन्त्रलाई पनि बुझन सक्तैनन्।
पृथ्वीविचार समावेसी सिध्दान्त र व्यवहारको चुरो हो। पृथ्वीविचारले खोजेको आर्थिक तथा जातीय समानता र एकताको प्रजातन्त्र नेपालको राष्ट्रिय आवश्यकता हो भन्ने सबै जाति र पार्टीहरुले बेलैमा बुझ्नु पर्दछ। पिछडिएका वर्ग, जाति, क्षेत्रको क्षमता विकास गर्दै राज्य सञ्चालनमा पहुँच पुर्याउने सार र धार भनेको नै पृथ्वीविचार हो।
पृथ्वीविचारको मर्मलाई दह्रोसंग पक्रेर राष्ट्रिय एकता र समानताको समावेसी धारमा नेपाललाई हिडाउने हो भने कुनै शक्तिले पनि नेपालीलाई फुटाएर जुधाएर नेपाललाई कमजोर पार्न सक्नेछैन। पृथ्वीविचार समावेसी तर योग्यता र क्षमताको सार र धार हो। यहि नै नेपालको मूलधार हो।
Facebook Comment