कोभिड महामारी फैलिएको पाँच वर्षपछि डब्लुएचओले चीनसँग तथ्यांक माग्यो
काठमाडौं । पाँच वर्षअघि चीनको वुहान सहरबाट कोभिड–१९ को महामारी विश्वभर फैलिएको थियो । तर अब विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनलाई कोभिड महामारीको उत्पत्तिसँग सम्बन्धित तथ्याङ्क उपलब्ध गराउन अनुरोध गरेको छ।
कोभिड महामारीको पाँच वर्ष पूरा भएको अवसरमा डब्ल्यूएचओले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो नैतिक र वैज्ञानिक आवश्यकता हो ।’
उसले अगाडि भनेको छ, “देशहरू बीचको पारदर्शिता, साझेदारी र सहयोगविना विश्वले भविष्यमा हुने महामारी र संक्रमणलाई रोक्न र तयारी गर्न सक्दैन।”
धेरै वैज्ञानिकहरू यो भाइरस जनावरहरूबाट मानिसमा फैलिएको विश्वास गर्छन् तर केही अझै पनि यो वुहानको प्रयोगशालाबाट उत्पन्न भएको शंका गर्छन्।
तर, सोमबार डब्लुएचओले जारी गरेको विज्ञप्तिमा चीनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
सेप्टेम्बरमा, वैज्ञानिकहरूको टोलीले कोभिड महामारी प्रयोगशालाबाट होइन बजारमा संक्रमित जनावरहरूको बिक्रीबाट सुरु भएको पूर्ण रूपमा स्पष्ट रहेको बताएको थियो र यो नतिजा जनवरीमा वुहानबाट संकलन गरिएका सयौं नमूनाहरूको विश्लेषणमा आधारित थियो।
आफ्नो विज्ञप्तिमा डब्ल्यूएचओले कोविडको प्रारम्भिक दिनहरू उल्लेख गर्यो र यो कसरी स्थानीय घटनाबाट विश्वव्यापी संकटमा परिणत भयो, जसले विश्वभर लकडाउन र अन्ततः खोपको निर्माण भयो भन्ने बतायो ।
मे २०२३ मा, डब्ल्यूएचओले कोभिड १९ अब विश्वव्यापी स्वास्थ्य आपतकालिन अवस्था छैन भन्ने घोषणा गर्यो ।
कोभिडको समयमा, डब्लुएचओका तत्कालीन महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले महामारीमा कम्तिमा ७० लाख मानिसको मृत्यु भएको बताएका थिए। तर वास्तविकतामा यसको संख्या २ करोड नजिक छ, जुन आधिकारिक अनुमानभन्दा झण्डै तीन गुणा बढी हो ।
त्यसयता डब्लुएचओले भविष्यमा कोभिड जस्ता रोगहरू देखा पर्ने सम्भावनाबारे बारम्बार चेतावनी दिँदै आएको छ।
Facebook Comment