जनकपुर शाखा प्रबन्धक पक्राउसम्बन्धी समाचार भ्रमपूर्ण : सिद्धार्थ बैंक

डिसी नेपाल
१७ पुष २०८१ ११:४४

काठमाडाैं। सिद्धार्थ बैंकले आफ्नो जनकपुर शाखाका शाखा प्रबन्धक अर्णबहादुर बलम्पाकी पक्राउ र कर्जा असुली प्रक्रियामा अनियमितताको आरोपसम्बन्धी केही दिनअघि सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै वास्तविकताभन्दा बाहिर गएर समाचार सम्प्रेषित भएको जनाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सिद्धार्थ बैंकले उक्त समाचारलाई असत्य ठहर गर्दै स्पष्टीकरण दिएको छ। बैंकले ऋणीहरूसँगको कर्जा असुली प्रक्रिया प्रचलित कानुनी पद्धति र बैकिङ अभ्यासअनुसार नै सम्पन्न गरेको दाबी पनि गरेको छ।

बैंकका अनुसार, जनकपुर र क्षीरेश्वर शाखाबाट कर्जा लिएका ऋणीहरूले लामो समयसम्म भुक्तानी नगरेपछि मौखिक र लिखित पत्राचार गर्दै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो। ऋण चुक्ता नगरेपछि कानुनी प्रक्रियाअनुसार धितो लिलामी गरी स्वीकृत बोलपत्रदाताको नाममा नामसारी गरिएको बैंकले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कानुनी प्रक्रियामा असहमति जनाउँदै केही व्यक्तिहरूले जनकपुर शाखा कार्यालयमा धर्ना र नाराबाजी गरेपछि बैंकको सेवा अवरुद्ध भएको थियो। सुरक्षाका लागि बैंकले स्थानीय निकायसँग समन्वय गर्दै शाखा प्रबन्धक र अन्य कर्मचारीलाई छलफलका लागि प्रहरी कार्यालयमा पठाएको थियो। यही अवस्थालाई केही व्यक्तिहरूले तोडमोड गरी शाखा प्रबन्धक पक्राउ भनी भ्रमपूर्ण समाचार प्रकाशित गरे।’

बैंकले कर्जा असुली प्रक्रिया प्रचलित कानुनी पद्धतिअनुसार नै सम्पन्न गरेको भन्दै असन्तुष्ट पक्षलाई न्यायिक उपचारका लागि सक्षम निकायमा जान आग्रह पनि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *