भीम रावलको पत्रकार सम्मेलनमा ओलीमाथि आक्रोश
काठमाडौं। एमालेबाट निष्कासित नेता भीम बहादुर रावलले अहिले भ्रष्टाचारमा परेका ठूला भनिएकाहरुलाई जोगाउने काम भएको भन्दै आक्रोश पोखेका छन्। उनले अन्तर्राष्ट्रिय सम्बन्धपनि फितलो बनाइएको भन्दै असन्तुष्टि पोखेका छन्।
एमालेबाट निश्काषनमा परेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै रावलले आफ्नो धारणा राख्ने क्रममा यस्तो बताएका हुन्। उनले अहिले देश र जनताको अवस्था दयनीय बनाईएको टिप्पणी गरे। उनले सत्ताका बागडोर लिएकाहरुले भ्रष्टाचारलाई प्रश्रयदिइरहेको आरोप लगाए।
उनले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप लगाएका छन्। उनले आफूले पाँच दशकसम्म काम गरेको एमालेमा केपी ओलीबाट भएको क्रियाकलापको विरोध गरेको स्मरण गराए। उनले देश र जनताको सर्वोपरि हितको लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको सुनाए।
‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्,’ रावलले भने, ‘भाडाका सिपाही, श्रमिक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन्।’
उनले एमालेमा विभाजन गर्न खोज्नेहरुलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरुलाई सदस्यबाट निकाल्ने काम गरेको भन्दै आक्रोश पोखे । उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपी ओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको स्पष्ट पारे।
उनले भने, ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र!’
यही पुस १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो।
Facebook Comment