मोरङका ९४ विद्यार्थीलाई न्यानो कपडा वितरण
मोरङ । मोरङको पथरी शनिश्चरे नपा वडा नं. २, बोक्रेचौकस्थित श्री सरस्वती आविमा आज ९४ सेट न्यानो कपडा वितरण गरिएको छ। यस विद्यालयमा अध्ययनरत ९४ जना विपन्न परिवारका विद्यार्थीलाई दाताबाट प्राप्त भएको सहयोगमा ट्रयाक सुट बाँडिएको हो ।
ईस्वी सम्बतको आज पहिलो दिन– नयाँ वर्ष जनवरी १ र नेपालीमाँझ प्रचलित टोपी दिवसको अवसर पारेर आयोजित यो कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. २ का वडाध्यक्ष नैना राईले सम्बोधनसहित बालकक्षाको विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेका थिए।
न्यानो कपडा वितरण सोही विद्यालयका पूर्व विद्यार्थी लगायतले गरेका थिए। जसमा हाल अमेरिका बसोबासरत युवाउद्यमी रवीन दाहाल (सुपुत्र श्री विष्णुकुमारी र पोमप्रसाद दाहाल) स्वदेशमै सुरक्षा अधिकारीको रूपमा कार्यरत व्यक्तित्व पञ्कज बुढाथोकी (सुपुत्र श्री पार्थबहादुर बुढाथोकी), स्थानीय समाजसेवी सरु विश्वकर्मा, विव्यस अध्यक्ष खगेन्द्र थापा र प्रधानाध्यापक अम्बिकादेवी गौतमको आ–आफ्नै खालको गच्छेअनुसारको सहयोग जुटाएर न्यानो कपडा वितरण गरिएको थियो।
कार्यक्रम उपस्थित दाताका बुबा–आमाले लक्षित विद्यार्थी भाइबहिनीलाई यो जाडोमा चाहिने न्यानो कपडामार्फत सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे।
न्यानो कपडा वितरण कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल नगर अध्यक्ष युवराज बास्कोटाको पनि उपस्थिति रहेको थियो । उनले उज्यालो छाउँदै निस्किएको सूर्य झैँ उघ्रँदो सामुदायिक विद्यालयको समग्र अवस्थालाई निस्तेज पार्न, क्रमशः सक्न, मास्न र यसप्रतिको आकर्षणता घटाउन कतिपय व्यक्तिहरूले कहिले विद्यालय प्रशासनको आन्तरिक विषयवस्तुलाई सार्वजनिकीकरण गर्ने, परस्पर सम्बन्धमा फाटो हाल्न अनावश्यक चासो लिने, केही विषयवस्तु पाए यसलाई गिजोल्नेदेखि लिएर समुदायसँग विद्यालय प्रशासनको वा प्रशासनसँग विद्यालय व्यवस्थापन समितिको दूरी बढाउने गरेको दुखेसो पोखे।
प्रधानाध्यापक अम्बिकादेवी गौतमले सहभागी सबैलाई सारगर्भित मन्तव्यले स्वागत गरेकी थिइन्।
Facebook Comment