कुवेतमा नेपाली महिलामाथि मालिकको ‘अत्याचार’
काठमाडौं। करिब पाँच महिनाअघि मात्र घरेलु कामदारका रूपमा कुवेत पुगेकी पाल्पाको माथागढी गाउँपालिका–७ घर भएकी २१ वर्षीया यानीसरा घर्तीमगरले आत्महत्या गरेकी छन् ।
पाल्पा घर भए पनि पछिल्लो समय प्यूठानको सरुमारानी बस्ने गरेकी उनी गैरकानुनी बाटो हुँदै कुवेत पुगेकी थिइन् । तर, उनले मालिकको अत्याचार सहन नसकेपछि गत २४ डिसेम्बरमा आत्महत्या गरेको कुवेतमा बसोबास गर्दै आएका घनश्याम थापा मगरले बताए ।
उनले आत्महत्या गरेको जानकारी पाएपछि सरुमारानी गाउँपालिका–५ ले कुवेतस्थित नेपाली दूतावासलाई पत्र लेख्दै शव बुझ्न कुवेतमै कार्यरत मृतकका पति रामबहादुर घर्ती मगरलाई सिफारिस गरिएको जनाएको छ । मृतकको शव नेपाल पठाउन दूतावास र रोजगारदाता कम्पनीसँग समन्वय भइरहेको बताइएको छ ।
अवैध बाटो हुँदै दलालका माध्यमबाट कुवेत पुग्ने धेरै घरेलु महिला कामदारले आत्महत्या गर्ने गरेको त्यहाँ रहेका थापा मगर बताउँछन् । घर मालिकको मानसिक तथा शारीरिक यातना, यौनजन्य गतिविधि गर्ने जस्ता कारणले नेपाली महिलाले कुवेतमा आत्महत्या गर्ने गरेको उनको भनाइ छ ।
घरेलु कामदारको समस्या जटिल छ । कुवेतमा अहिले श्रम स्वीकृति नलिई गैरकानुनी बाटो हुँदै आएका नेपाली महिलाको संख्या उल्लेख्य छ । यसाँ करिब ४२ हजार नेपाली महिला छन् ।
कुवेतमा घरेलु महिला कामदारको अवस्था दयनीय रहेको भन्दै उनले तत्काल नेपालबाट अवैध बाटो हुँदै कुवेत आउनेहरूलाई रोक्नुपर्ने बताए । यसरी नरोके धेरै नेपाली महिलाले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने उनले बताए ।
‘हामी पनि एउटा कुनै कम्पनीमा कार्यरत कामदार हौं, कति जनालाई उद्धार गर्न सक्छौं र ?’ उनले राजधानीसँग भने, ‘दैनिक रूपमा उद्धार गर्नुप¥यो भनेर कल र म्यासेज आउँछ कतिलाई सहयोग गर्छौं, कतिलाई भागेर नेपाली दूतावास जानू भन्छौं, हरेक दिन कोही न कोही भागेर दूतावास नगएको दिन नै हुँदैन, दूतावासमा पनि सीमित कर्मचारी हुँदा समस्या छ, त्यही पनि दूतावासले धेरै सहयोग गरिरहेको छ ।’
घरेलु काममा कुवेत आउने ४० प्रतिशत नेपाली महिला समस्यामा पर्ने गरेका छन् भने एजेन्टको लापरबाहीले गर्दा धेरै चेलीबेटीले आत्महत्याको बाटो रोज्ने गरेका छन् । सन् २०२४ मा मात्रै कुवेतमा चार जना नेपाली महिलाले आत्महत्या गरेका छन् । यसमध्ये एक जना कम्पनीमा र बाँकी तीन जना घरेलु कामदारका रूपमा थिए ।
अवैधानिक बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर साहुको कुटपिट र यातना सहन नसकेर तत्काल भागेर वा मालिककै घरमा बसेर हारगुहार गर्ने नेपाली महिलाको संख्या ठूलो रहेको त्यहाँ रहेका नेपालीले बताउने गरेका छन् । दलालले भारतको बाटो हुँदै जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् ।
अवैधानिक बाटो भएर गएको पत्तो नपाउने महिलाहरूले बन्धकसरह काम गर्ने र पछि समस्यामा परेपछि मात्र आफूलाई फसाएको थाहा पाउने गर्छन् । उनीहरूलाई आफूलाई पर्ने समस्या कहाँ कसरी सम्पर्क गर्ने केही जानकारी नहुँदा उद्धारमा समेत समस्या हुने गरेको त्यहाँ क्रियाशील संघसस्थाले बताउने गरेका छन् ।
Facebook Comment