सहकारी ठगी प्रकरण : आजबाट जाहेरीवालाको बयान

डिसी नेपाल
१८ पुष २०८१ ७:२०

पाेखरा। सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट जाहेरीवालाको बयान सुरू हुने भएको छ। बुधबारसम्म सो मुद्दामा थुनछेक बहस भएको र सो सकिएकाले आजबाट जाहेरीवालाहरूको बहस सुरू हुन लागेको हो।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ।

बुधबार सरकारी वकिलकातर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधीवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएपछि आजबाट जाहेरवालाको तर्फबाट बहस हुन लागेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

उनका अनुसार जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्नेछन्।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ।

यस्तै, लामिछानेसँगै जोशी, पछाई, गुरुङ र खनालविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको छ। लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहति मुद्दा दर्ता गरिएको छ।

यस्तै, पूर्व-डिआइजी जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ। जोशीले ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको छ।

यसैगरी, पछाईंलाई २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो कायम गरिएको छ । अर्का प्रतिवादी रामबहादुर खनाललाई १४ करोड ३० लाख ९१ हजार ९११ रुपैयाँ बिगो कायम गरिएको छ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *