स्वर्ण लक्ष्मीमा रविसहित ४४ जना प्रतिवादी

डिसी नेपाल
१८ पुष २०८१ ७:३१

काठमाडौं। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा ४४ जनालाई प्रतिवादी कायम गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गर्न प्रहरीले राय दिएको छ।

बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी लिन सरकारी वकिललाई राय दिएको छ।

कात्तिक २१ मा लेखा समिति सदस्य सुनिता नेवा र कात्तिक २६ मा ऋण उपसमिति सदस्य कमल लामा पक्राउ परेका थिए। स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न जिबी राई, पूर्व-डिआइजी छविलाल जोशी, जिबीको साढुभाइ दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने प्रहरीको राय छ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा विद्यार्थी नेता दीपेश पुनकी पत्नी सविना आले मगरलाई पनि प्रहरीले प्रतिवादी कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सविना कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा लेखा समिति सदस्यको रूपमा आबद्ध थिइन्। दीपेश पुन पनि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका हुन्।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा पाँच हजार ६६९ जना बचकर्ताले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार रुपैयाँ जम्मा गरेको भेटिएको छ । केन्द्रीय कार्यालय कालिमाटीमा रहेको सो सहकारीको शाखा न्युरोड, महाराजगञ्ज, स्वयम्भू र जोरपाटीमा पनि खोलेर आर्थिक कारोबार गरेको भेटिएको छ। रकम अपचलनबारे अनुसन्धान गर्न प्रहरीमा ६९० जनाले जाहेरी दिएका थिए।

स्वर्ण लक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा एक करोड ८२ लाख अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको छ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जिबी राई र पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा संयुक्त रूपमा प्रवाह भएको ऋण पनि नतिरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन्।

रवि र जिबीको नाममा प्रवाह भएको ‘फोर हिृवलर लोन’ र ‘इको सेभेन सिटर भ्यान’ बापतको ६१ लाख फिर्ता गर्न बाँकी रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। राई र लामिछानेले लगेको रकमसहित सहकारीबाट गोर्खा मिडियामा गएको एक करोड ८२ लाख फिर्ता नगरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।

पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलगायत सातजना विरुद्धको मुद्दामा जिल्ला अदालत कास्कीमा दोस्रो दिन पनि थुनछेक बहस चल्यो। जिल्ला न्यायाधीश नितिज राईको इजलासमा मंगलबार सरकारी वकिलको बहस भएको हो।

सहकारी ठगीका आरोपित लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। लामिछानेसहित सातजना प्रतिवादीविरुद्धको थुनछेक बहस मंगलबारबाट सुरु भएको हो। मंगलबार आरती गुरुङको बयान सकिएलगत्तै थुनछेक बयान सुरु भएको थियो।

सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता शान्तिदेवी शर्माले बुधबार पनि बहस गरे। शर्माले मंगलबार पनि बहस गरेका थिए। सहन्यायाधीवक्ता सुजाता पौडेलले पनि बहस गरेका थिए।

बुधबारै सरकारी वकिलकै तर्फबाट विपिनराज तिवारी, कमला काफ्लेसहित नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतमले पनि बहस गरेका छन्। सरकारी पक्षको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, डा. नारायण घिमिरे, हरि सुवेदी, रोहित बास्तोला, डा. नारायणदत्त कँडेल, सुदिज्ञ पन्त, रास्वपा सांसद सोविता गौतम लगायतले बहस गर्ने तयारी छ।

सातैजना प्रतिवादीको हकमा जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस सुरु भएको हो। सरकारतर्फबाट बहस गरेका शान्तिदेवी शर्मा र सुजाता पौडेलले सहकारी ठगीको आरोप लागेका लामिछानेसहित सातैजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गर्नुपर्ने तर्क गरेका थिए।

प्रहरीको अनुसन्धान प्रतिवेदन, संसदीय छानविन विशेष समितिको प्रतिवेदन र पोखरा महानगरपालिकाको वित्तीय विश्लेषण प्रतिवेदनका आधार, कारण र प्रमाणबाट सातैजनालाई थुनामा पठाउनुपर्ने तर्क उनीहरूको थियो। सरकारी वकिलको बहस सकिएपछि जाहेरवालाका तर्फबाट बहस हुने जनाइएको छ।

थुनछेक बहसपछि लामिछानेलगायत सहकारी ठगीका आरोपितलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि पठाउने आदेश आउनेछ। लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ। यस्तै, लामिछानेसँगै जोशी, पछाई, गुरुङ र खनालविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको छ।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहति मुद्दा दर्ता गरिएको छ। यस्तै, पूर्व–डिआइजी जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ । जोशीले ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको छ।

यसैगरी, पछाईंलाई २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो कायम गरिएको छ । अर्का प्रतिवादी रामबहादुर खनाललाई १४ करोड ३० लाख ९१ हजार ९११ रुपैयाँ बिगो कायम गरिएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।

हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *