मन्दिरका छानामा नाग किन ?
कश्यप र कद्रूबाट उत्पन्न भएका नागलाई पवित्र जीव, पुजनीय प्राणी, अचूक अस्त्र, प्रकृतिको संरक्षक, विश्वको रक्षक मानिन्छ। महादेवको घाँटी, कमर, नाडी आदिमा नौवटा नाग छन्। महादेवलाई ‘नागेन्द्रहाराय त्रिलोचनाय’ अर्थात् नागका माला र बालाले सजिएको बताइन्छ।
विष्णु शेषनागमा सुतेका छन्, पृथ्वीलाई शेषनागले बोकेका छन्। मन्दिर, मूर्ति, तन्त्र, दर्शन, जीवनदेखि ब्रम्हाण्डसम्म नागको नाता जोडिएको छ। घर, धारा आदि जलाशयमा सोमवार, पञ्चमी वा नागपञ्चमीमा नागको पूजा गरिन्छ।
पानीको शुद्धीकरण, वातावरण संरक्षण एवं रोग निवारणमा नागको भूमिका अहम् रहन्छ। पुराणहरूमा नागलोक, नागवंश, नागपास (हतियारविशेष) आदिको वर्णन छ। पश्चिम नेपालमा नागराज वंशले शासन गरेका थिए। नेपालमा नागडाँडा, नागढुंगा, नागफाँटहरू भेटिन्छन्।
वेदले पृथ्वी, अन्तरिक्ष आदिमा व्यापक भएको सर्पलाई नमस्कार गरेको छ। मन्दिरमा राखिएका नागलाई रक्षक, शुद्धीकरण, अग्नि र कालको प्रतीक मानिन्छ। मूर्ति र मन्दिरको संरक्षण, भूगोल र प्राणीको सुरक्षा, साधकको साधनामा बाधा नपुगोस्, अनिष्ट र अरिष्टको नाश होस् भनी मन्दिरको छानामा नाग राखिन्छ।
छाना भएका मन्दिरमा नाग तलतिर, छाना नभएका मन्दिरमा माथितिर फर्किएका छन्। पूजा गर्ने विधि, मूर्तिको ऊर्जा र साधनाको लक्ष्यअनुसार नागको शिर माथि वा तल फर्काइन्छ। जमिनमुनि वा तलोमाथि राखिएका कलश, चक्र, यन्त्र, तान्त्रिक मूर्ति, शिवलिंगमा नाग हुनुपर्छ। नागले कुण्डलिनी जागरण, शक्ति सञ्चार, साधनापद्धतिलाई बताइरहेका हुन्छ।
भगवान्ले आफूलाई सर्पहरूमा वासुकि र नागहरूमा अनन्त बताएका छन्। सर्पको दाँतमा विष हुन्छ, तुरुन्त रिसाउँछ, लामो र चुच्चो पुच्छर हुन्छ तर नागमा हुँदैन। पानीका मूल, थुम्को वा ढाप आदिमा नागहरू बस्छन्।
नागलाई रक्षक एवं देवस्वरूप मानेर नागपञ्चमी, सोमवार वा पञ्चमी तिथिमा पूजा गरिन्छ। नागका बारेमा तन्त्र, ज्योतिष, इतिहास र साहित्यका ग्रन्थहरूमा प्रशस्त वर्णन छ। महादेवको घाँटीमा बस्ने हुँदा सर्पहरू तुरुन्तै रिसाउँछन् तर शेषनागमाथि योगनिद्रामा विष्णु रहेकाले नागहरू सौम्य हुन्छन्।
भदौ, असोज र कार्तिकमा पूर्व, मंसीर, पुष र माघमा दक्षिण, फाल्गुन, चैत्र, वैशाखमा पश्चिमा, जेठ, असार र साउनमा उत्तरतर्फ नागको शिर हुन्छ। कालकुट विष पिएर महादेवले ब्रम्हाण्ड जोगाएझैं सर्पहरूले प्रकृति र प्राणीको रक्षा गर्न वातावरणको विष खाइदिन्छन्।
घरजग्गामा बस्ने सेतो नागलाई शुभ र कालो नागलाई अशुभ मानिन्छ। सिंहासन, मूर्ति र मन्दिरमा ३, ५, ९, ११ आदि मुखे नाग राखिन्छ। स्वयम्भूमहापुराणले टाउकाको संख्या, रङ आदिका आधारमा नागलाई अनन्त, वासुकि, शेष आदि नामले चिनाएको छ।
यिनीहरू पुरुष र प्रकृति, सम्पत्ति र शक्तिका प्रतीक मानिन्छन्। मृगस्थलीमा रहेका अधिकांश शिवालयका ढोकानिर नाग र चार कोणमा गरुड राखिएको छ। नाग र गरुड शत्रु भए पनि शिवकृपाले मिलाएको संकेत गर्छ।
वैदिक, बौद्ध, मुन्धुम, बोनका शास्त्रीय मत तथा स्थानीय मान्यताअनुसार मन्दिरका छानामा नाग राखिन्छ। दशमहाविद्याका मन्दिर वा मृतकको मुक्ति होस् भनी निर्माण गरिएका मन्दिरका छानामा नागहरू तल फर्काइन्छ।
पाशुपतक्षेत्रमा रहेको पञ्चदेवल, सिद्धिकाली (ठिमी), पाटनको उमामहेश्वर, कालमोचनघाटमा रहेको रणमुक्तेश्वरमन्दिरमा नागको (चित्र १६) शिर तल फर्किएका छन्। साधुसन्त वा राजाको सिंहासनमा नाग माथितिर फर्किएका हुन्छन्।
माथि फकिएका (उध्र्वगमन) नागले मुक्ति, लौकिक र अलौकिक फल दिन्छन्, जसले अग्नि र ऊर्जाको प्रयोगबारे बताउँछ। नागको शिर तल फर्केमा लौकिक फल र संरक्षण आदि बुझाउँछ। नागमाथि बसेको देवीदेवतालाई कालले छुन सक्दैन बरु काललाई नियन्त्रणमा राख्छ, प्रकृतिलाई आदेश दिन्छन्।
तात्कालिक राजवैद्य चक्रपाणिले सुनका चार नाग (चित्र १५) गुह्ेश्वरीमन्दिरको छानामा राखिदिए। यिनीहरूलाई वज्रयोगिनी, खड्गयोगिनी (दक्षिणकाली), सिद्धियोगिनी (गुह्ेश्वरी), अग्नियोगिनी (विजेश्वरी) गरी चार देवीको प्रतीक मानिन्छन्। कतिपय स्थानमा नाग र सर्पलाई स्थानीय देवता एवं कूलदेवताका रूपमा पूजिन्छ।
नागपोखरी, पशुपतिमन्दिरको ईशानकोणमा रहेका वासुकि सर्प यसका उदाहरण हुन्। गरुडको पञ्जाबाट उम्किएका वासुकिलाई पशुपतिले निधिको सुरक्षा गर्ने जिम्मा दिए। मेघनादले नागपासद्वारा राम र लक्ष्मणलाई बाँधेको रामायणले बताउँछ। सर्पमुद्राद्वारा युद्ध जित्थे।
सिकन्दर नागपूजक भएकाले भारत प्रवेश गर्नसाथ नाग मार्न प्रतिबन्ध लगाए। अन्नबाली लगाउन र भित्र्याउनपूर्व नागको पूजा गरिन्छ। नागलाई ऊर्जा, सम्पत्ति, शान्ति, संरक्षकको स्वरूप भएकाले मन्दिरका छाना र मूर्तिमा राखिन्छ, बारी, जलाशय र घरमा पूजा गरिन्छ।
Facebook Comment