विकृति विसंगति कारण र कारक
हाम्रो संसदीय ब्यबस्थामा अनेकौं विकृति बिसंंगति ब्याप्त छन्। हुन त व्यक्ति, व्यवस्था वा कुनै पनि कुराका राम्रा र नराम्रा पक्षहरु हुन्छन् नै। राम्रा पक्षहरु हावी भएमा बस्तु राम्रो देखिन्छ। नराम्रा पक्षहरु हावी भएमा नराम्रो देखिने हो।
प्रत्येक ब्यक्तिमा पनि राम्रा र नराम्रा पक्षहरु हुन्छन्। सकारात्मक पक्षहरुको मात्रा बढी भएमा व्यक्ति राम्रोमा गनिन्छ। नकाराकत्मकता बढी भएमा नराम्रो देखिने हो।
यसैले यो भन्न सकिन्छ संंसार नै राम्रा र नराम्रा पक्षहरुको संगम हो। संंसारका कुनै पनि राजनीतिक व्यबस्थाका राम्रा र नराम्रा पक्षहरु हुनु स्वभाबिक हो।
हाम्रो संसदीय व्यबस्थामा पनि नराम्रा पक्षहरु हुनु अस्वभाबिक चाहिँ होइन। तर पनि बिकृति बिसंगति बढेका छन्, झांगिएका छन्। यसलाई निराकरण गर्ने कसैको चासो छैन भने यो मौलाउँदै जाने कुरापनि स्वभाविक मान्नुपर्छ। राम्रा बानी, राम्रो संस्कार त्यसै स्थापित हुने होइन।
यसको लागि पहल गर्नु त आवश्यक नै छ। चलन त्यसै चल्दैन चलाएपछि चल्छ भन्ने बुढापाकाको आह्वान त्यसै बनेको हैन। तर यतातिर कसले ध्यान दिने? सत्ता राजनीति गर्ने सबैलाई सत्ता केन्द्रित राजनीति गर्दै फुर्सद छैन।
नराम्रा पक्षहरुको सुधार कसले गरिदिने। राम्रा थिती राम्रा संंस्कारहरुको जग कसले बसाई दिने? यो सवाल आजको हाम्रो राजनीतिक माहोलमा खडकिदो प्रश्न बनेर उभिएको छ।
राजा महेन्द्रले संसदीय ब्यबस्था असफल भयो यसले देशको हित गर्न सकेन भनेर नै पञ्चायती ब्यबस्था लागू गरेका थिए। हामीले कक्षा ९ र १० पढ्दा पञ्चायत भन्ने एउटा छुट्टै बिषय पढ्नुपर्दथ्यो। यसमा संसदीय ब्यबस्था असफल हुनुका कारणहरु उल्लेख भएका थिए।
यस्ता कारणहरुमा अहिले जे जस्ता बिकृति बिसंंगतीहरु दखापरेका छन् तीनै कुराहरु उल्लेख थिए। पञ्चायती व्यबस्था निरंकुश भयो भनि २०४६ सालमा भएको पहिलो जन आन्दोलनले पञ्चायती व्यबस्था फालियो। २०६२-६३ को दोश्रो जन आन्दोलनले राजतन्त्रलाई पनि फाल्यो।
नेपाल गणतान्त्रिक देश कहलियो। देशलाई हाक्ने संसदीय प्रणालीको निरन्तरता पुनः प्राप्त भयो। तर यसका संंचालकमा त्रुटि कमीकमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्छ भन्ने चिन्तन आउन सकेन। राजनीति सत्ताको वरिपरी नाच्न थाल्यो। जसरी भएपनि सत्ता प्राप्त गर्नुपर्छ भन्ने प्रतिश्पर्धा अगाडि आयो।
दलीय स्वार्थ देशको स्वार्थ भन्दा ठूलो हुन थाल्यो। व्यक्तिगत स्वार्थ त्यो भन्दा पनि माथि पुग्न थाल्यो। ठेलम ठेल धकेला धकेलको अवस्थाबाट राजनीति गुज्रिरह्यो।
३ जेठ २०७५ मा नेकपा एमाले र नेकपा माओबादी मिलेर नेकपा भन्ने बिशाल पार्टी बनेको थियो। यसका अध्यक्ष दुई जना हुनुभयो।
एकजना केपी ओली र अर्का पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो। पार्टीमा दुईटा अध्यक्ष भएपछि राजनीतिक जगतमा टिकाटिप्पणीहरु धेरै भयो। यसैले हालका प्रधानमन्त्री ओलीले “ टेम्पो र बस जस्तो होइन जहाँ एउटा चालक भए काफी हुन्छ। यो त जेटप्लेन हो, ठूलो प्लेन हाँक्न त दुईवटा पाइलट आनिवार्य आवश्यक हुन्छ” भनिदिनुभयो।
दुई पार्टी मिलेर बनेको नेकपालाई उहाँले जेट प्लेनको उपमा दिनुभएको थियो। यो समय कम्युनिष्ट समर्थक जनता, नेता र कार्यकर्ता सबैमा उत्साह निकै चुलिएको थियो। तर यो परिस्थिति लामो समय टिक्न सकेन। यसको कारण ब्यक्ति स्वार्थ र पदीय स्वार्थ नै प्रमुख पक्ष थियो।
आपसी बैमनस्यता बढिरहेको यो समयमा सर्बोच्च अदालतले नेता ऋषि कट्टेलले दर्ता गर्नुभएको नेकपा नामसँग नाम मिल्न गएकाले नेकपा एमाले र नेकपा माओबादी छुुट्टा छुुट्टै यथावत् नाम रहने निर्णय गरिदियो। यसपछि दुई पार्टी पुनः अलग भए। माओबादी पार्टी त अलग भयो अरु केही भएन।
तर नेकपा एमाले भित्र कलहको बिऊ रोपियो। नेता माधव नेपाल र झलनाथ खनाल समेतले नयाँ पार्टी नेकपा एस खोल्नुभयो। एमाले पार्टीको पुनः बिखण्डन भयो।
यसपछिका दिनमा धकेला धकेलको अवस्थाले नेता घनश्याम भुसाल पनि चुनावको बेला नेकपा एकीकृतमै मिसिनु भयो। भर्खरै नेकपा एमालेले नेता भीम रावललाई संंगठित सदस्यता पनि नरहने गरी निष्कासित गरेको छ।
हाम्रो संसदीय प्रणालीमा सत्ता भोगको सुखमा कतैबाट बाधा व्यवधान र बिरोधी आवाज देखापर्छन् भने जोसुकै होस त्यस्ता व्यक्तिलाई पार्टीबाटै निष्कासित गर्ने गरिन्छ। नयाँ पार्टी खोल्ने अवस्था नयाँ बिषय होइन।
बिगतमा नेपाली कांंग्रेस भित्र पनि त्यस्तै भएको थियो। नेपाली कांंग्रेस पनि यसैगरी दुईपटक फुट्यो। एकपटक २००९ सालमा जुनबेला पार्टीको नेतृत्व बिपीले गर्नुहुन्थ्यो भने सरकार प्रमुख मातृकाप्रसाद कोइराला हुनुहुन्थ्यो।
अर्कोपटक २०५९ सालमा फुट्यो। यसबेला पार्टीको नेतृत्व गिरिजाप्रसादले गर्नुभएको थियो भने सरकारको नेतृत्व शेरबहादुर देउवाले गर्नुभएको थियो। शेरबहादुर देउवाले यसबखत नेपाली कांंग्रेस प्रजातान्त्रिक नामको छुट्टै पार्टी गठन गर्नुभएको थियो।
सत्ता स्वार्थका लागि धकेलिने ठेलिने र तानिने श्रृंखला चली नै रहन्छ। पार्टी भित्रै पनि भनाभन र धकेला धकेल त सामान्य कुरा हो। आफू जन्मेको हुर्केको र यसलाई चिटिक्कको बनाउन मेहनत र परिश्रम खर्चेको घरबाट कसैले निकालिदियो भने तपाईँलाई कस्तो लाग्छ? पक्कै पनि मन धेरै कुँडिन्छ नै। जतिसुकै कुँडिएपनि यो हाम्रो संसदीय व्यबस्था भित्रको वास्तविकता हो। जसरी पनि पार्टी भित्र बलियो र हर्ताकर्ता हुनु नै पर्यो।
किनकी पार्टीमा बलियो भएपछि चुनावमा टिकटको खटनपटन आफ्नो हुनेभयो। संंसदमा बहुमत ल्याउन सकियो भने प्रधानमन्त्रीको पद पनि आफ्नै पोल्टामा पर्ने भयो।
यसैले त आपसी सौहार्दता गुमाएर बिरोधी मतलाई सफाया गर्न चाहन्छन् शिर्ष नेताहरु। अभिभावक नभएको घरमा बाकी सदस्यको हालत कस्तो हुन्छ?
अभिवावक हुँदा अनेक ठूस्की फुस्की सबै सहेर सबैको हित र उन्नतीको लागि मिलाएर लाने कोसिस हुन्छ। जसरी मदन भण्डारी मनमोहन अधिकारीको समयमा नेकपा एमालेमा त्यो अवस्था बिद्यमान थियो। अहिले नेपालको राजनीतिक जगतमा पार्टीमा होस् वा देशमा अभिभावकत्व गुमाए जस्तो अराजक परिस्थिति श्रृजना भैरहेको छ।
मानिस त्यसै अराजक बन्ने हैन? यसका पनि कारणहरु हुन्छन्। कारकका कारणले कारणहरु जन्मिन्छन्। यसको कारक भनेकै संसदीय व्यबस्था भित्र भैरहेको बिकृति बिसंगति भित्र छ। यसमै गहिरो गरी खोजिनु आवश्यक छ।
कारक एकातिर छ कारण मात्र हेरेर यसको सामाधान खोज्दा समस्या बल्झिने मात्र हुन्छ। मुख्य गाँठो नचिनी सहायक गाँठो मात्र खोलेर समस्याको सामाधान हुँदैन। कुनै अमुक व्यक्तिलाई दोष दिएर समस्याको सामाधान हुँदैन। प्रेम र शान्तिको अभावमा अराजकत्ताको जन्म हुन्छ। कुनै व्यक्तिले अनाहकमा दुःख पाउँदा के हुन्छ? तपाईंलाई थाहै छ।
हरेक क्रियाको ठिक बिपरित र उल्टो प्रतिक्रिया हुन्छ। न्यूटनले त्यसै भनेका हैनन्। बस्तुमा मात्र हैन कि न्यूटनको त्यो नियम समाज शास्त्रमा पनि लागू हुन्छ।
सामाजिक अराजकताको जन्म हुनु यसैको कारण हो। यसैले संंसद सदस्यहरुलाई मन्त्री बनाउनु भन्दा बिज्ञहरुवाट मन्त्री बनाउने सिष्टम निकै उत्तम हो।
संसद सदस्यहरुको काम कानून बनाउने हुनुपर्छ। कार्यकारी राष्ट्रपत्ति अथवा सम्पूर्ण जनताले चुन्ने प्रधानमन्त्रीय सिष्टम जे भए पनि हालको ब्यबस्था भन्दा उत्तम हुन सक्छ। बर्तमान सामाजिक र राजनीतिक अराजकताको निराकरण गर्न आवश्यक छ। जुन काम गर्न ढिला भैसकेको छ।
संविधान संंशोधन गरेर एउटा अर्को प्रयोगको थालनी गर्नु अत्यन्त आवश्यक छ। मानिसले सफलता र असफलता दुबैबाट केही न केही सिक्दछ।
हाम्रो संसदीय ब्यबस्थाको यति लामो र पटक पटकको असफलताबाट पनि नेताहरुले केही पनि सिकेको जस्तो देखिएन। बरु यही हिलो आहालमा डुबुल्की मारेर बस्नु नै मज्जा मानिरहेको देखिन्छ।
भइरहेको पार्टीबाट जो जो धकेलिए वा झगडा गरेर बाहिर निस्किए उनीहरुले नयाँ घर बनाउन खोजे पनि पहिले जस्तै पक्की, मजबुत र सबैजना अटाउने घर बनाउन सकेनन्। यसको कारण पनि सोझो र खुलस्त छ। पहिलेको घर धेरैको आदर्श, रगत तथा पसिनाले बनेको घर थियो।
अहिले तपाईँले बनाउन लागेको घर रिसको आवेगमा संसदीय व्यवस्था र त्यसको वरिपरि घुम्ने बडपन देखाउन बनाउने झिल्के घर हो। यसरी बनेको घर अव धेरैले मन पराउने मजबुत घर बन्न सक्तैन। पहिले बनिसकेको घर बिज्ञापनको एउटा ब्राण्डमा जमेको पनि छ।
किनकी धेरै मानिसहरु बसिरहेको घर किन छोड्नु भनेर, कोही झुक्किएर, ठोक्किएर वा लोभ्भिएर पनि त्यहीँ पुग्छन्। यसो भएको हुनाले पुराना राजनीतिज्ञले नयाँ नयाँ पार्टी खोल्दै जानु दिमाग, समय र पैसाको बर्बाद मात्र हो। हाम्रो संसदीय इतिहासले हामीलाई यस्तै यस्तै कुरा बताइरहेको छ।
पार्टीहरु भित्र धेरै उच्च पदस्त आदणीय व्यक्तित्वहरु हुनुहुन्छ। यति कुरा बुझिदिएर आफ्ना पाइलाहरुलाई सकारात्मक दिसातिर मोड्न र व्यबहारहरुलाई परिवर्तन गर्न पनि म बिशेष अनुरोध गर्दछु।
Facebook Comment