भीम रावलको आरोप प्रचण्डको जस्तो : एमाले

डिसी नेपाल
१८ पुष २०८१ १६:१६

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी कारबाहीमा परेका भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका छन्।

बिहीबारको सचिवालय बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिँदै उनले रावलको आरोप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले २०७७ सालमा लगाएको भन्दा भिन्न नरहेको बताए। उनले त्यो खाले आरोप अपेक्षाभन्दा बाहिरको भएको बताएका छन्।

‘हामीले धेरै छलफल गरेनौं। उहाँले भनेको नौलो कुरा भएन। २०७७ साल कात्तिकमा यिनै भाषामा प्रचण्डले अध्यक्ष ओलीलाई यस्तै खालका टिप्पणी गर्नुभएको थियो। एक किसिमले कपिपेस्ट जस्तै हो,’ उनले भने। यसले उल्टै रावलभित्रको नकारात्मकता छरपष्ट भएको उनको आरोप छ।

उनले एमाले गालीगलौजको प्रतिस्पर्धामा नगएर देश बनाउने अभियानमा लाग्ने बताएका छन्।

यसका साथै आजको सचिवालय बैठकले ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ। पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन अध्यक्ष ओलीले प्रस्तुत गर्ने बताएका हुन्।

आजको बैठकमा राजनीतिक प्रतिवेदनका मुख्य विषयमा छलफल भएको उनले जानकारी दिए। एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरबारेमा प्रतिवेदनमा उल्लेख गरिएको उनले जनाए।

बैठकमा सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको पनि उनको भनाइ छ।

यो पनि पढ्नुहोस्,

ओलीले केन्द्रीय बैठकमा पेस गर्ने प्रतिवेदन सचिवालय बैठकबाट पारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *