काठमाडौं प्रहरीले बुझायो प्रतिवेदन : रविसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने सुझाव
काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर प्रहरीले फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले जाहेरीको १० महिनापछि अनुसन्धान सकेर बिहीबार प्रतिवेदन बुझाएको हो।
आरोपितहरूको बयान तथा सोधपुछ, सहकारीसम्बन्धी कागजातको अनुसन्धान, कार्यालयमा भेटिएका तथा नक्कली ऋण बनाएर अपचलन गरेका विषय अध्ययन गरेर तयार पारिएको अनुसन्धान प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय समेटिएको छ।
स्वर्णलक्ष्मीमा पक्राउ पुर्जी जारी भएका ४४ जनालाई पहिलो चरणमा प्रतिवादी बनाउनुपर्ने राय दिइएको काठमाडौं परिसरको मुद्दा फाँटका डीएसपी हरि खतिवडाले बताए।
प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ।
रायमा आरोपितबाट १ अर्ब १९ करोड रुपैयाँ बढी बिगो मागदाबी गर्नुपर्ने उल्लेख छ। स्वर्णलक्ष्मी सहकारीबाट १६ भन्दा बढी कम्पनीमा २३ करोड ३७ लाख ११ हजार ३२० रुपैयाँ रकम ट्रान्सफर गरिएको अडिट रिपोर्टले देखाएको छ।
यसमध्ये सबैभन्दा बढी जीबी (गीतेन्द्रबाबु) राईको हर्बो इन्टरनेसनल प्रालिमा १० करोड २७ लाख ९४ हजार ५२२ रुपैयाँ अपचलन भएको रायमा उल्लेख छ।
जीबी गु्रप अफ कम्पनी प्रालिमा एक करोड ६९ लाख १ हजार ४२ रुपैयाँ, कुमकुम हर्बल इन्डस्ट्रिज प्रालिमा १३ लाख ११ हजार ४४८ रुपैयाँ, देवदीप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्डरी फार्ममा तीन करोड ७८ लाख सात हजार नौ सय ३६ रुपैयाँ रकम ट्रान्सफर गरेर अपचलन गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ।
Facebook Comment