झाराटारा किसिमले पार्टी चल्नेवाला छैन, गम्भीर बनौं : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले झाराटारा गरेर पार्टी नचल्ने बताएका छन्। कांग्रेस काठमाडौं क्षेत्र नम्बर-१ ले बिहीबार १०० दिने अभियानअन्तर्गत आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका आन्तरिक गतिविधि झाराटारा किसिमले गरेर नहुने बताए।
पार्टीको संगठनलाई कागजी रुपमा मात्रै सीमित गर्न नहुने भन्दै उनले पार्टीलाई बलियो ढंगले अघि बढाउन सबै लाग्नुपर्नेमा जोड दिए। पार्टीभित्र असल संस्कार स्थापित गर्नुपर्ने बताउँदै उनले अस्वस्थ संस्कारले कसैलाई फाइदा नगर्ने धारणा राखे।
उपप्रधान एवं सहरी विकास मन्त्रीसमेत रहेका कांग्रेस पूर्वमहामन्त्री सिंहले कागजमा मात्र सदस्य संख्या भएर नहुने बताए। उनले पार्टीका कार्यक्रममा सहभागीता बढाउनुपर्ने औंल्याए।
‘पार्टी केन्द्रले भन्यो, जिल्लाले सर्कुलर गर्यो। गर्नुपर्ने भएको हुनाले कार्यक्रम गरेको भनेर भएन। झारा टारेर, आलटाल गरेर पार्टी चल्नेवाला छैन। सिरियस्ली लाग्नुपर्यो,’ उनले भने। मुलुकको स्थायीत्व र विकासको नेतृत्व कांग्रेसले गर्नुपर्ने तथा त्यसका लागि पार्टीलाई व्यवस्थित राख्नुपर्नेमा सिंहले जोड दिए।
ठूला दल मिलेर सरकार बनाएको प्रति नकारात्मक टिकाटिप्पणी हुने गरेको भन्दै सिंहले जनताको राजनीतिक स्थायीत्व र स्थीरताको चाहनाअनुसार नै ठूला दल मिल्नुपरेको बताए।
‘पहिला सरकार बनेको केही हप्ता, महिनामा स्क्याण्डलहरू आउँथ्यो। राजनीति स्थीरता दिन्छौं भनेर बनेको कांग्रेस- एमाले सरकार बनेपछि तपाईंहरूले के त्यस्तो स्क्याम सुन्नुभएको छ?,’ उनले भने।
उनले सरकार विधिको शासनमा प्रतिवद्ध रहेको भन्दै बद्मासी गर्नेमाथि विधिअनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढ्ने तथा अन्तिम फैसला सर्वोच्च अदालतले गर्ने बताए।
Facebook Comment