अर्थसहित संघीय संसदका ६ वटा समितिको बैठक बस्दै

डिसी नेपाल
१९ पुष २०८१ ७:३१

काठमाडाैं। अर्थ समितिसहित आज संघीय संसदका ६ वटा समितिका बैठक बस्दैछन्। संघीय संसद सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन्।

जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ। जुन बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुने जनाइएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्ध र नेपाल पर्यटन वोर्डको कार्यसम्पादन स्थितिका बारेमा गरी १ वटा अजेन्डामा छलफल हुनेछ। जुन बैठक बिहान ११ः०० बजे बस्नेछ।

उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान ११ः०० बजे बोलाइएको छ। आजको बैठकमा नेपालमा जलबायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरु तथा कोप-२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरुमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरु र आगामी दिनहरुमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउँने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने संसद सचिवालयले जनाएको छ।

साथै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै अजेन्डा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल हुनेछ। जसको बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ भने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ। ती समितिका बैठक क्रमशः बिहान ११ः३० र बिहान ११ः०० बजेबाट सुरू हुने संसद सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *