कविता : रातकी रानी

शंकरप्रसाद रिजाल
२० पुष २०८१ ७:१५

खुलेको मुख त्यो सानो लामो जुल्फ कपाल त्यो
निहुरी आँख खुलेको बिस्तार पूर्वक त्यो।

कहाँ देखेथेँ तिमीलाई त्यो परको पहाडमा
छैनौ तिमी पक्कै पनि त्यो पारीको उजाडमा।

पहाडी भीरको बाटो त्यो ओर्लिन्छौ सुस्तरी
चम्केको मुख तिम्रो त्यो देख्छु तिम्रो वरीपरी।

रात पूर्णिमाको छ छायाँ तिम्रो शरीरमा
झुल्किएको बेहुली झैं त्यो रुप यो चन्द्र रातमा।

बिस्तारै हिँड त्यो बाटो टेकी सुस्त मिठासमा
बाटो म देखाउँछु बत्ती लिइ यो हातमा।

हतार नगर कत्ति त्यो तिम्रो हिँडाइमा
तल बेसी यो गाउँमा बसेको छु पर्खाइमा।

त्यो रुप सेतो तिम्रो शान्त र मौन छ
यो आज साँझको रात पूर्णिमाको दिन छ।

रातको जुन ताराहरु झर्दै आकास तल धर्तीमा
रातकी रानी रमेकी छिन् सबैको मोह प्रीतिमा।

चन्द्रमा सरी त्यो रुप हिँडे झैं सर सरी
झट्ट हेर्दा उनी देखिन्थिन् पूर्णिमाको परी।

रात छिप्पे सरी उनी सर्छिन् त्यो थुम्काको पर
कसैले छोलाकी भन्ने त्यो उनलाई कति हो डर।

सक्तैन छुन उनलाई त्यो उनको घर
हावाले नै उडाउँछ एकै छिनमा कहाँ पर।

तृष्णा मनको आशा उडाई किन ल्याउँछ
त्यो रातको रानीको बीचमा चन्द्रमा उदाउँछ।

उज्यालो मुख त्यो मोडी लुक्छिन् पलमा तिनी
फूल रातकी रानी मुस्कुराउँ छिन् त्यसै उनी।

नछोप घुम्टोले शीर म हेर्दछु तिमीतिर
फूल हौ टिप्न चाहन्न रातमा फुलेको फूल।

रातकी रानी हौ तिमी म हेर्छु टाढा बसी
दिनमा घुम्टो छोपेर त्यो पहाडमा बसीरही।

सम्हाली राख त्यो रुप म आउँला कुनैदिन
बनी रातकी रानी बस्ने छौ त्यसैदिन।

गरीब र धनी

धनी ती महलमा बस्छन् खायी पिइ रमाउँछन्
गरीब झुपडीमा भोकै छोरा छोरी सुताउँछन्
हेर गरीबको जीवन जाँतोमा झैं पिनिए सरी
काम ती कति गर्दा हुन् सासै नै नफेरिने गरी।

धनी पैसाको पोखरीमा डुबी पौडीखेली बस्तछन्
गरीब त्यही पैसाको लागि घर घर चहार्दछन्
मातेका धनी जो मानिस खाई पिइ रमाउँछन्
तिनैका खाइ फ्याँकेका गरीब टिपी खाँदछन्।

सृष्टिको चक्रमा कोही धनी गरीब त थिएनन्
जन्मको काल चक्रमा तल माथि पनि थिएनन्
धनी जो काम गर्नेछन् धेरै अनैतिक गर्दछन्
थोरै त कर्मको काम गरी सम्पन्न बन्दछन्।

जेहोस् धनीका छोरानाति खुबै बैभव बन्दछन्
गरीब जति छन् ती छन् भाग्यमा भर पर्दछन्
कर्म नगरी दिनहुँ दोबाटो बाटो ढुकी बस्दछन्
यसरी कसरी हुन्छ गरीब उही बन्दछन्।

रामराम जपीमात्र रामै जस्तो हुने सरी
केही काम ती गर्दैनन् ईश्वरै पाउनेगरी
बेलाको त्यो कर्म चाहिन्छ धनीश्री हुनलाई
बेला बितेपछि त्योकर्म हुन्छ गरीब बन्नलाई।

कर्मको पछि लागने सुख सन्तोस भर्दछन्
जाँगरिला तिनै मानिस सुखपूर्वक बस्दछन्
जाँड रक्सी जुवा तास खेल्ने ती गरीब हुन्
पैसा उडाइ दिनदिनै दीनदुखी ती बन्दछन्।

के गरीब के माग्ने उनको कर्म कहाँ गयो
विधाताले उनैको भाग्यमा घुमी ठगने भयो
हुर्काउ आफ्नो सन्तान आजदेखि त्यो कर्ममा
सम्झाउ आफनो धर्म ती जादैनन् दुष्कर्ममा।

गरीब भाग्यले बन्ने होइन हुने हो आफ्नो कर्मले
धनी कर्मले बन्ने त्यो होइन आफ्नो कुकर्मले
कृतः कृतः कर्म कृते कर्ता फल प्राप्नोती निश्चय
निर्गुणी परिमाणस्य फल प्राप्नोती अनिश्चय।

धर्म कर्म गर नित्य मुखमा राम जपिकन
संसारमा तिम्रो नामको सधैं हुन्छ किर्तन
सफल तिम्रो सधैं हुन्छ सबैलाई जितन
कैवल्यले साथ दिन्छ सुखभोगी बनीकन
कैवल्यले साथ दिन्छ सुखभोगी बनीकन।

आशा

आशा मनको इच्छा कहाँ गइ विसाऊँ म
तृष्णा तनको आगो कहाँ गइ निभाऊँ म।

बर्सिन्छ आशको तन्द्रा शरीरै भिजाउने गरी
भिजेको बिरालो जस्तो कहाँ गइ सुकाऊँ म।

माया मोहको जालो शरीरै भरी पोलने
काँडा घोचने तीर छिया छिया बनाउने।

सन्तोसी आतमा मेरो छेक्यो कसले बागी भई
मोहको आशको तार बाँध्यो कसले बलियो गरी।

न रंग थियो मेरो आशाको शून्य चक्रमा
न ढंग थियो मेरो मायाको मोह जालमा।

देहको मोह जालैमा कसरी म फसें प्रभु
इच्छा भोगीबनी अहिले पासोमा म परें प्रभु।

रहेन कोही केही ज्ञान यो मनमा सधैं
आशा मनमा तृष्णाले जरो गाढियो सधैं।

यी आशा लिइ मनमा घुम्ने जीवनै भरी
पुग्ने पो हो कि होइन, आउँदा दिनमा फेरि।

इच्छा मनमा थिएन सन्त ज्ञानी बने सरी
रुने पो हो कि यो मन मेरो इच्छा मर्ने गरी।

सन्तको ज्ञानशालामा म जाउँ कि कसो गरूँ अनि
बाँकी जीवनको आशामा बिश्राम लिउँ कि भनी।

नाता गोता सबै छाडी इच्छा त्याग्ने भनी सबै
भएका छन् सन्त ज्ञानी भोगी छन् सबै उनै।

मन भो भारी यो मेरो इच्छा तृष्णा बढेपछि
को छ आशा त्यो त्याग्ने जीवन बढ्दै गएपछि।

जिउँदो रहँदा आशा मर्दो रैनछ कहिलेपनि
शैया मृत्युमा पर्दा नि हुन्छ इच्छा त्यहाँ पनि।

कस्तो इच्छा बन्यो हाम्रो यो जीवनमा सधैं अनि
हुँदैन यसको अन्त्य मृत्युको मुखमा पनि।

बाँचने सबको आश मृत्यु चाहन्न कोहीपनि
इच्छा मर्ला कि भन्ने डरले बाँचेका छन् तैपनि।

भो इच्छा अब चाहिन्न लोकै यो हँसाउने सरी
ओखती त्यो मलाई देउ त्यो इच्छा मरने गरी।

शिक्षा र समयको महत्व

शिक्षा हो मूल जीवनको ज्ञान मात्रैले पुग्दैन
यसले विश्वसनीयता जगाउँछ कसैले छुन सक्तैन
लेख्ने पढ्ने दुवै यसले उचाईमा पुर्याउँछ
कल्पनाको सोच सागरमा यसले जागृत गराउँछ।

यो शिक्षा निम्न श्रेणीको मध्यम र उच्च नीति हो
मध्यम उच्च कुनै होइन निम्न तह बलवान हो
यसैले नै बिगार्ने हो हामी मानिसको कर्म यो।

चरित्र शुद्धीको लागि यो शिक्षा अनमोल छ
यसले मध्यम शिक्षालाइ ठुलो आड पुर्याउँछ
यसैको तह नाघेर उच्च शिक्षा लिने गर
यो शिक्षाले जीवनमा तिम्रो ठूलो मूल्य बढाउँछ।

सृजना शक्ति जो तिम्रो हुन्छ गुरुको ज्ञानमा
बन्नेछ यसले तिम्रो ज्ञान उच्च शिखरमा
शिक्षाले सबैलाई दिन्छ ज्ञान समानता
यसैले दिन्छ त्यो ज्ञान बन्छ त्यो मानवता।

शिक्षा साधन हो बन्छ मानिसको गुण
आचरण जीवनको माथि सुध्रिन्छ पुनपुन
नरोक पढ्न त्यो तिम्रो किताव गुण कर्मको
राखी मनमा विश्वाश भोलि पुगिन्छ स्वर्ग त्यो।

घडी चौबिसको हुन्छ दिन रात गरीकन
आठघण्टा कडा काम आठघण्टा सुतीकन
बाँकी आठघण्टा त्यो तीन भागमा गर
दुई परिवारमा हेर साथीलाई पनि भर।

दुई सफाइमा लाग स्वास्थ्य र खेलकुदमा
दुई समाजमा देउ हाँसो र मुस्कानामा
दुई ध्यानमा लाग बिहानी प्रातकालमा।

भित्रैदेखि स्वयंलाई स्वयंलाई नित्य सम्हालने गर
कसैको पर त्यो पुगी इष्र्या नगर घरघर
बितेका कर्म ती सारा फोहर बाकसमा भर
बर्तमान यो आजको पत्रिका झैं पढने गर।

भविष्य त्यो पछि हुने त्यसलाई प्रश्न झैं हेर
होइन भने जीवन हुन्छ खोस्टा कागजको घर
शिक्षा समय बलवान हो त्यो सदा सम्झिने गर
नित्य यो समय शिक्षाको पालना गरने गर
नित्य यो समय शिक्षाको पालना गर्ने गर।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *