कविता : परिवार नियोजन

राज्यलक्ष्मी खतिवडा
२० पुष २०८१ ७:१३

दिदी बहिनी हे दाजु भाइ नियोजन गरौँ है रमाई
विन्ती गर्छु दिदी बहिनी दाजुभाइ सुन
दुई सन्तान भए पछि गर नियोजन
धेरै सन्तान भए भने दुःख हुन्छ भारी
दिन रातको घर झगडा चल्छ कुटामारी।

दिदी बहिनी हे दाजु भाइ नियोजन गरौँ है रमाई
शिर माथि सन्तानको नथुपार भार
धुरुधुरु रुँदै पछि मान्नु पर्ला हार
छोरा छोरी भन्छन सधैं देउन आमा भात
पछुताउँदै राख्छन बाबु पुर्पुरोमा हात
दिदी बहिनी हे दाजु भाइ नियोजन गरौँ है रमाई।

अनियोजित सन्तान जन्माई आमा परिन् थला
आँसु र पसिनाको धारो छुट्छ खलखल
रोइ कराइ छोरा छोरी गर्छन् लडिबडी
टोलाएर बाबु आमा हेर्छन् छक्क परी
दिदी बहिनी हे दाजु भाइ नियोजन गरौँ है रमाई।

बाबु बन्न त्यसै हुन्न खप्नु पर्छ भार
शिक्षा दिक्षा दिनु पर्छ मान्नु हुन्न हार
त्यसैले नै दुई सन्तान नै बुझाउनु चित्त
बाबु आमा छोरा छोरी सबको हुन्छ हित
दिदी बहिनी हे दाजु भाइ नियोजन गरौँ है रमाई।

धेरै भए कोही लाग्छन् चोरी जारी तिर
बाबु आमाहरुले नै खप्नु पर्छ पीर
खान लाउन नपाएमा उठछ सधैं रिस
कोही लाउँछन् गला पासो कोही खान्छन् बिष
दिदी बहिनी हे दाजु भाइ नियोजन गरौँ है रमाई।

पुरानो त्यो रीति रिवाज सबै छाडी देउ
नयाँ समाज सिर्जनाको बाटो अब लेउ
यसले हुन्छ हित कल्याण सन्तानको लागि
नबनै है जीबन भरी यो दुःखको भागी
दिदी बहिनी हे दाजु भाइ नियोजन गरौँ है रमाई।

छोराछोरी एकै सम्झै दुई आँखाका नानी
भेदभाव नगरौँ है जानी जानी
छोराछोरी एकैहुन नगरौँ है हेला
रुनु पर्ला छोरी सम्झी पछि कुनै बेला
दिदी बहिनी हे दाजु भाइ नियोजन गरौँ है रमाई।

सुन्दरहरैंचा -६, दुलारी, मोरङ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *