अमेरिका विश्वमा हाँसोको पात्र बन्योः डोनाल्ड ट्रम्प

डिसी नेपाल
१९ पुष २०८१ १३:५९

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्वमा हाँसोको पात्र बनेको बताएका छन् । उनले यसको पछाडि सीमा नीति र कमजोर नेतृत्व रहेको बताए । ट्रम्पले एक्समा एक पोस्टमा राष्ट्रपति जो बाइडेनलाई “अमेरिकी इतिहासको सबैभन्दा खराब राष्ट्रपति” भने।

उनले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, ‘बाइडेनको खुला सीमा नीतिबारे मैले मेरो र्‍याली र अन्य ठाउँमा धेरै पटक भनेको छु कि अमेरिकामा यति धेरै कट्टरपन्थी इस्लामिक आतंकवाद र हिंसात्मक अपराध हुनेछन् कि विश्वास गर्न गाह्रो हुनेछ। अहिले त्यस्तै छ।”

नयाँ वर्षको अवसरमा देशमा दुईवटा ठूला घटना भएका बेला ट्रम्पले यस्तो बताएका हुन् । लुइसियानाको न्यू अर्लिन्समा एक व्यक्तिले जानाजानी भीडमा ट्रक चलाएका छन् । जसमा १५ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

उक्त व्यक्ति चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) बाट प्रभावित भएको बताइएको छ । अर्को घटना लस भेगासमा ट्रम्प इन्टरनेशनल होटल बाहिर भएको छ।

यहाँ साइबर ट्रक विस्फोट भएको छ। यस घटनामा एक जनाको मृत्यु भएको छ भने करिब ७ जना घाइते भएका छन् ।

ट्रम्पले लेखे, “उनी (बाइडेन) अयोग्य र भ्रष्ट छन्। उनले बाहिरी र आन्तरिक हिंसात्मक व्यक्तिहरूबाट अमेरिकीहरूलाई जोगाउनमा ध्यान केन्द्रित गर्नुको सट्टा आफ्नो सबै समय आफ्ना राजनीतिक प्रतिद्वन्द्वी र ममाथि आक्रमण गर्न खर्च गर्छन् ।”

डोनाल्ड ट्रम्पले पोस्टमा लेखेका छन्, “देशमा के भइरहेको छ त्यसका लागि डेमोक्र्याटहरूले आफैंमा लज्जित हुनुपर्छ। धेरै ढिलो हुनु अघि सीआईए (केन्द्रीय गुप्तचर एजेन्सी) ले हस्तक्षेप गर्नुपर्छ।”

उनले लेखेका छन्, “अमेरिका टुट्दैछ। बलियो नेतृत्वले मात्र यसलाई रोक्न सक्छ। जनवरी २० मा भेटौँला।”

वास्तवमा, जनवरी २० मा ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा सपथ लिनेछन्। आफ्नो पोस्टको अन्त्यमा उनले अमेरिकालाई महान बनाउने आफ्नो नारा पनि लेखेका छन्, “मेक अमेरिका ग्रेट अगेन”।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *