कविता : श्रीमानको स्वर्ग बास भएपछि
स्वामी हजुर स्वर्ग भएर जाँदा
सिन्दुर मेरो पनि झट्ट लाँदा
आइ परे बज्र समान भै गो
सिन्दुरको धर्को टुटेर गै गो ।
स्वर्गे भएर जब जानु भो हजुर
आइपरे विपदहरु म मा हजुर
मुर्छा परेर उसबखत लडिएछ डङ्ग
घेरे सबै वरिपरि म भएँ अचम्म ।
सम्झाउछन् सब जना मुख हेरी हेरी
हुँदैन केही गरे पनि मन शान्ति मेरी
भन्छन् अब तिमी गरे जल पिण्ड दान
आउँछन लुकी लुकी उनीहरु दान खान ।
आँसु बगी नदी सरि हुन गो मलाई
चल्दैन पाउ रतिभर मन यो जलाई
एक्ली भएँ मन भो बहुतै निराश
स्वमी जीको निधन भो अब छैन आश ।
स्वर्गे भएर जब जानु भो हजुर
बाजे बज्यैहरु पनि हुनु भो नि दूर
खानु बस्नु अब कता घर छैन मेरो
श्रीमानका सखीहरु सब छन अधेरो ।
दाजु र भाइहरुको अति चकचकि भो
मेरो त आदर दिने शिव आज को हो ?
छोरो भए सरी किन नहुने बुहारी
लिनु म अंश कसरी समिति गुहारी ।
धनकै रहेछ मतलब सब हेर आज
धनी भए अघि बढी बोल्ने समाज
देवर जेठाजुहरुको पनि लाग्छ अंश
छुट्टै छ अंश उनको मन भो निराश ।
सुन्दरहरैचा- ११, कर्जुना, मोरङ
प्रतिक्रिया
Facebook Comment