तीन पुस्ताको सहकार्यमा तयार भयो ‘सपनीमा’
काठमाडौं। नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ का लागि ‘सपनीमा’ बोलको गीत तयार भएको छ। उक्त गीतमा शब्द र संगीत करुण थापाले दिएका छन् भने गायिका इन्दिरा जोशी र गायक करण परियारको स्वर रहेको छ।
संगीतकार थापा २० वर्षपछि यही गीतमार्फत पाश्र्व संगीतमा फर्किएका हुन्। सन् २००४ मा ‘बादल वर्षा बिजुली’ बोलको गीतपछि चलचित्रका लागि पहिलोपटक गीतसंगीत तयार गरेको उनले बताए। ‘मैले चलचित्रको गीत लेखन र संगीतको काम छाड्नुको कारण उक्त समयमा गीतसंगीतलाई हल्का रूपमा प्रयोग गर्ने प्रचलन मुख्य थियो, त्यसैले मैले व्यर्थका गीतहरू लेख्न र सिर्जना गर्न सकिन’, उनले भने।
उनलाई ‘बादल वर्षा बिजुली’ झैँ गीत तयार गर्न धेरै चलचित्रकर्मीले आग्रह गरेका रहेछन् तर संगीतकार थापा तयार भएनन्। त्यसपछि गीतिसङ्ग्रहमा मात्र काम गरेका संगीतकार थापा पुनः चलचित्रमा काम गर्न तयार हुनुको कारण भने निर्देशक दीपेन्द्र गौचन रहेको बताउँछन्।
चलचित्रको विषयवस्तु बुझेपछि र गीतको प्रसंग थाहा पाएपछि संगीतकार थापाले शब्द र संगीत सिर्जना गरे। त्यसपछि उनले चलचित्रको विषयअनुसार पुरुष गायनमा परियार र महिला गायनमा जोशीलाई छनोट गर्नुभएको जनाइएको छ। ‘म नेपाल आइडल नामक सांगीतिक प्रतियोगितामा पुग्दा नै गायक परियारको गायनबाट प्रभावित थिए। महिला स्वरका लागि मलाई गायिका जोशी उपयुक्त लाग्नुभयो’, संगीतकार थापाले भने।
यसरी गीतमा तीन पुस्ताको सहकार्य सम्भव भएको उनले बताए। गायिका जोशीले यो सहकार्यमार्फत आफूले सिक्ने अवसर पाएको बताइन्। उनले भनिन्, ‘मलाई आफूभन्दा अग्रज र आफैँ निर्णायक रहेको प्रतियोगितामार्फत उदाएका अनुजसँग काम गर्न पाउँदा निकै खुसी लागेको छ। चलचित्रको विषयअनुसार नै सहरिया युवतीका लागि मैले स्वर दिएकी हुँ।’
गायक परियारले आफ्नो पाश्र्व गायनमा उदाउने सपना पूरा भएको बताए। ‘म चलचित्रका गीतमा स्वर दिन चाहन्थे, यो सपना पूरा भएको छ। मैले न्याय गर्न सकेको छु भन्ने लागेको छ। आफ्नै गुरु गायिका जोशी र अग्रज संगीतकार थापासँग काम गर्न पाउनु मेरा लागि अवसर र चुनौती दुवै थियो। मैले संगीतमा देखेको एउटा सपना पूरा भएकामा खुसी छु’, उनले भने।
चलचित्रका निर्देशन गौचनले विषयवस्तुअनुसार गीतको अडियो र श्रव्यदृश्य तयार गरिएको बताए।
वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक गौचनले ठूलो पर्दाका लागि पहिलोपटक चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका हुन्। उनले पहाडी समुदायको केटी र मधेशी समुदायको केटाको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताए। यो चलचित्र आगामी माघ ११ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।
Facebook Comment