अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि दक्षिण अफ्रिकासँग भिड्ने
काठमाडौं । भारतविरुद्ध सिड्नी टेस्ट जितेर अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । पराजित भएपछि भारतीय टोली विश्व टेस्ट च्याम्पियनसिपको वर्तमान चक्रमा फाइनलको दौडबाट बाहिरिएको छ ।
अस्ट्रेलिया लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि दक्षिण अप्रिकासँग फाइनल खेल्नेछ । फाइनल आगामी जूनमा इङ्ल्याण्डको लर्डस मैदानमा हुनेछ ।
सिड्नी टेस्टमा भारतीय टोली अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको हो । यो हारसँगै भारतीय टोली बोर्डर–गावस्कर ट्रफीमा ३–१ ले पराजित भएको छ ।
अष्ट्रेलियाले १० वर्षपछि यो सिरिजमा भारतलाई हराएको हो । यसअघि सन् २०१४-१५ सिजनमा एमएस धोनीको कप्तानीमा अस्ट्रेलियाको टोलीले सिरिज जितेको थियो।
आइतबार खेलको तेस्रो दिन भारतले अस्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको थियो, जुन अष्ट्रेलियाले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर पुरा गरेको थियो । ट्राभिस हेड ३४ र ब्यु वेबस्टर ३९ रनमा अविजित रहे ।
यी दुई बाहेक उस्मान ख्वाजाले ४१ र साम कन्स्टासले २२ रन बनाए । भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए । दिनको पहिलो सत्रमा भारतीय टोली दोस्रो इनिङ्समा १५७ रनमा अलआउट भएको थियो ।
यसअघि अस्ट्रेलिया पहिलो इनिङ्समा १८१ रनमा अलआउट भएको थियो भने भारतले पहिलो इनिङ्समा १८५ रन बनाएको थियो । यससँगै भारतले पहिलो इनिङ्समा ४ रनको अग्रता लिएको थियो ।
Facebook Comment