संविधान खारेज गर्नुपर्छ : प्रभु साह

डिसी नेपाल
२१ पुष २०८१ १६:२४

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संविधान खारेज गरिनु पर्ने बताएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँगको कुरा गर्दै साहले कार्यान्वयन नै नगरीकन संशोधनको कुरा गर्नु अपराध र संविधान संशोधन नभई खारेज गरिनुपर्ने बताए।

‘सरकारले संविधान कार्यान्वयनसम्बन्धी कानुन ल्याउन चाहेन। प्रहरी ऐन अलपत्र छ। निजामति ऐन बेवारिसे छ। संविधानअनुरुपको सामाजिक न्याय प्रदान गर्ने शिक्षा र स्वास्थ्य ऐन अलपत्र छ। संविधानमा भएका मौलिकहक कार्यान्वयन गर्ने कुनै कानुन बनेको छैन। सरकारलाई संविधान कार्यान्वयनमा चासो छैन,’ उनले भने।

संविधान निर्माण कांग्रेस-एमाले गठबन्धन सरकारले गरेको स्मरण गर्दै उनले संविधान नै कार्यान्वयन नगरीकन उही पार्टी र नेताले संशोधनको कुरा गर्नु अपराध भएको बताए। ‘बरु गलत संविधान बनाई देश र जनतालाई ठगेको कुरा स्वीकारेर कामै नलाग्ने यो व्यवस्था खारेज गर्न उनीहरू सहमत हुन जरुरी छ,’ उनले भने।

यो व्यवस्थाले मुलुक र जनताको अवस्था परिवर्तन नहुने साहको भनाई छ। उनले अहिलेको ‘खिचडी व्यवस्था’ खारेज गर्नुको विकल्प नभएको भन्दै दलाल दलतन्त्र र लुटतन्त्रले आम नागरिक निरास बताए। उनले यो व्यवस्था खारेज गरेर आम जनताको शासन हुने व्यवस्थाको आवश्यकत्ता औंल्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *