पोखराका सहकारी पीडितलाई भेट्नै चाहेनन् गगनले
पोखरा । पोखराका सहकारी पीडितले आफूहरूलाई भेट्न नचाहेको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको विरोध गरेका छन्। आज सहकारी पीडितले पोखरामा रहेका थापालाई भेट्न खोजे भेट हुन नसकेको गुनासो गरेका छन्।
थापासँग भेट नभएपछि आक्रोसित उनीहरूले कांग्रेस पोखरा पार्टी कार्यालय अगाडि प्रदर्शनसमेत गरेका छन्। नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज दिनभर थापा राजनीतिक भेटघाटमा व्यस्त थिए।
उनलाई भेट्न सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवं हालका सूर्यदर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतको टोली पुगेको थियो। महामन्त्री थापाले भेट्न इन्कार गरेपछि किरण श्रेष्ठ त्यत्तिकै फर्किएका थिए।
सहकारीसम्बन्धी मुद्दा अदालतमा चलिरहेका कारण सहकारी मुद्दासँग सम्बन्धित पक्षलाई महामन्त्री थापाले भेट्न नमानेको बताइएको छ।
रवि लामिछानेविरुद्ध यथेष्ट प्रमाण भन्दै संसदमा अभिव्यक्ति दिएका थापासँग प्रमाण खोज्न रास्वपा समर्थक पनि कांग्रेस कार्यालय पु्गेकोमा पार्टी कार्यालय अगाडि सहकारी बचतकर्ता र उनीहरूबीच झडपसमेत भएको थियो।
Facebook Comment