तिलगंगा आँखा प्रतिष्ठान रूपनगरमा प्रभावकारी सेवा दिँदै, हजारौँ लाभान्वित

रूपनगर, सप्तरी। तिलगंगा आँखा प्रतिष्ठानले सप्तरीको रूपनगरमा सञ्चालन गरेको ‘तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र’ ले सेवा शुरू गरेको एक वर्ष पुग्नै लाग्दा दुई हजार चार सय भन्दा वढी नागरिकलाई आँखा उपचार सेवा दिएको छ।
गत वर्ष माघ १९ गते औपचारिक रूपमा आरम्भ गरिएको यो आँखा अस्पतालमा आँखा जाँचका साथै चश्मा जाँच, चश्मा बनाउने, आँखा स्वास्थ्य सम्बन्धी परामर्श लगायत सामान्य अप्रेशन समेत हुने गरेको जानकारी केन्द्रले दिएको छ।
केही वर्षदेखि वार्षिक रूपमा सञ्चालन हुने गरेको निशुल्क आँखा शिविर यस वर्षदेखि आवधिक रूपमा चलाइनेछ। यही मङ्सीर दोश्रो हप्ता सञ्चालित निशुल्क आँखा शिविरमा एक हजार भन्दा वढी व्यक्तिको आँखा जाँच गरिएकोमा ४०६ जनाको मोतिबिन्दुको अप्रेशन समेत गरिएको तथ्याङ्क आँखा केन्द्रका प्रमुख चन्द्रकान्त चौधरीले दिनु भएको छ। आँख शिविरका लागि तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँबाट विशेषज्ञ डाक्टरहरू आउने गरेका छन्।
आँखा उपचार सेवा दिइराखेको यो अस्पतालले स्वास्थ्य स्वयम् सेविका र विद्यालयका शिक्षक/शिक्षिकाहरूलाई समेत तालिम दिएको छ। अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता अनिल साउदका अनुसार भर्खरै यस्तो दुई वटा तालिम गरियो। ‘३० जना स्वास्थ्य स्वयम् सेविका र सरकारी विद्यालयका ३३ जना शिक्षक/शिक्षिकालाई आँखा स्वास्थ्य सम्बन्धी तालिम दियौँ। हामीले तालिम दिएकाहरू अहिले गाउँ र विद्यालयमा सामान्य आँखा जाँच गर्न थाल्नु भएको छ,’ साउद भन्छन्।
तिलगंगा आँखा प्रतिष्ठान, कञ्चनरूप नगरपालिका र कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रको सहकार्यमा रूपनगर चोकमा सञ्चालित यो अस्पतालमा नयाँ प्रमुख आएका छन्। बरिष्ठ नेत्र सहायक धर्मराज यादवले आइतबारदेखि पदभार ग्रहण गरेसँगै बरिष्ठ नेत्र सहायक चन्द्रकान्त चौधरी सरूवा भएर विदा भएका छन्।
आइतबार अस्पतालमा आयोजित छोटो कार्यक्रममा यादवलाई स्वागत तथा चौधरीलाई विदाइ गरियो। सो कार्यक्रमलाई सम्बोधन गर्दै कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रका अध्यक्ष अमर श्रेष्ठले ‘हामीलाई कुशल स्वास्थ्य सेवा दिनुका साथै सफलतापूर्वक आँखा शिविर सञ्चालन गर्नु भएकोमा चन्द्रकान्त चौधरीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु’ भन्दै नयाँ आएका धर्मराज यादवलाई स्वागत् गरे।
सो अवसरमा रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले, ‘तिलगंगा आँखा प्रतिष्ठानको व्यानरमा तपाईँहरूले हाम्रो गाउँलाई दिइराख्नु भएको स्वास्थ्य सेवा विशिष्ट छ’ भन्दै आगामी दिनमा यो सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
Facebook Comment