३४ बन्धकलाई रिहा गर्न हमास तयार, के नेपाली बिपिन जोशी पनि समावेश होलान् ?
काठमाडौं । हमासले गाजा युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणमा ३४ बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ।
बीबीसी संवाददाता जोनाह फिशरका अनुसार हमासका एक वरिष्ठ अधिकारीले बीबीसीसँग ३४ बन्धकहरूको सूची साझा गरेको छ ।
यससँगै इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको ती अधिकारीले बताए ।
यीमध्ये कतिजना बन्धकहरू जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन। ती बन्धकहरू को-को हुन् भन्ने पनि स्पष्ट छैन । हमासले बीबीसीबाहेक रोयटर्ससँग पनि सूची साझा गरेको समाचार एजेन्सीले दाबी गरेको छ ।
बीबीसीले आफूले पाएको रिहा गरिने बन्धकहरूको सूचीबारे निकै सीमित जानकारी सार्वजनिक गरेको छ । बीबीसीका अनुसार सूचीमा १० जना महिला, ५० वर्षदेखि माथि ८५ वर्षसम्म उमेरका ११ पुरुष र एक जना बालक रहेको बताएको छ । हमासले पहिले यी बालक इजरायलको आक्रमणमा मारिएको बताएको थियो ।
यी २२ जनामा नेपालका बिपिन जोशी समावेश हुने सम्भावना छैन । हमासले कूल ३४ जना रिहा गर्ने बताएको छ । यी २२ बाहेक अन्य १२ जना युवा हुन् । यी २२ जनामा नेपालका बिपिन जोशी पनि समावेश हुन सक्छन् ।
हमासले सूचीमा रहेका धेरै बन्धकहरू बिरामी रहेको बताएको छ। रिहा गरिने १२ युवा बन्धक पनि बिरामी भएको हुनसक्ने सम्भावना उच्च छ । यदि बिपिन बिरामी रहेछन् भने उनी पनि रिहा हुन सक्ने सम्भावना छ ।
यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगराएको बताएको छ।
यसअघि इजरायलले कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको बताएको थियो ।
इजरायलले गाजा पट्टीमा आक्रमण बढाएको बेला फेरि युद्धविरामको विषयमा वार्ता सुरु गर्ने घोषणा गरिएको हो ।
आइतबार गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले विगत २४ घण्टामा भएको आक्रमणमा ८८ जनाको ज्यान गएको बताएको छ ।
यहाँ आइतवार, इजरायली सेनाले गाजा पट्टीमा गत दुई दिनमा १०० भन्दा बढी “आतंकवादी लक्ष्यहरू” मा आक्रमण गरेको र “दर्जनौं हमास आतंकवादीहरूलाई मारेको” बताएको छ।
Facebook Comment