माओवादी केन्द्रीय समिति बैठकः नेता तथा कार्यकर्ता श्रम अभियानमा क्रियाशील हुनुपर्नेमा जोड

डिसी नेपाल
२२ पुष २०८१ १८:१०

काठमाडौं। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौंमा सोमबार बसेको केन्द्रीय समिति बैठकको दोस्रो दिनको छलफलका क्रममा उनीहरुले पार्टी सरकारबाट हटेपछि जनतामा जाने ऐतिहासिक अवसर भएकाले यसका लागि पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकमा पार्टीको महाधिवेशनको मितिसहितको कार्यतालिका तोक्नुपर्नेमा अधिकांशले धारणा राखेका थिए।

त्यस्तै उनीहरुले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन वैज्ञानिक र वस्तुवादी रहेकाले स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्छ भन्ने धारणा समेत राखेको प्रवक्ता सापकोटाले बताए।

केन्द्रीय सदस्यहरुले अध्यक्षसहित सबै नेता कार्यकर्ताहरु अनिवार्य रुपमा श्रम र उत्पादनसँग जोडिनुपर्ने सुझाव दिएका छन् भने सदन आह्वानका लागि अन्य दलसँग मिलेर दबाब सिर्जना गर्नुपर्ने सुझाव समेत आएको प्रवक्ता सापकोटाले बताए।

बैठकमा १८० जनाले बोल्नका लागि नाम टिपाएकोमा दोश्रो दिन ८० जनाले धारणा राखेका थिए। बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको प्रवक्ता सापकोटाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *