अमेरिकी विदेशमन्त्री दक्षिण कोरिया गएपछि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल हान्यो
काठमाडौं । दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ ।
दक्षिण कोरियाले बताएअनुसार पछिल्लो दुई महिनामा उत्तर कोरियाले प्रक्षेपण गरेको यो पहिलो मिसाइल हो ।
सेनाले भन्यो, “यो क्षेप्यास्त्रले समुद्रमा खस्नुअघि ११ सय किलोमिटरको दूरी तय गरेको थियो।” दक्षिण कोरियाले उत्तर कोरियाको यो ‘उत्तेजक कार्य’को कडा निन्दा गरेको जनाएको छ ।
उत्तर कोरियाबाट क्षेप्यास्त्र प्रहार गर्ने यो कारबाही यस्तो समयमा गरिएको हो जब अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा छन् र त्यहाँका धेरै प्रमुख नेताहरूसँग भेटघाट गर्न जाँदैछन् ।
अहिले दक्षिण कोरिया राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक-योलले हालै देशमा मार्शल ल लागू गर्ने असफल प्रयास गरेका थिए।
यसपछि उनले पदबाट राजीनामा दिएर महाभियोगको सामना गर्नुपरेको थियो । अहिले उनीमाथि गिरफ्तारीको खतरा छ । देशमा जारी गतिरोध अन्त्य गर्न ब्लिन्केन दक्षिण कोरिया जान लागेको बताइएको छ ।
Facebook Comment