‘स्पाइडर म्यान’ फिल्मको चर्चित जोडी टम होल्याण्ड र जेन्डायाको इंगेजमेन्ट
काठमाडौं । मार्वल सिनेम्याटिक युनिभर्सको चर्चित फिल्म सिरिज स्पाइडर म्यानको चर्चित अनस्क्रिन जोडी टम होल्याण्ड र जेन्डायाले इंगेजमेन्ट गरेका छन् । फिल्ममा पनि यो जोडी निकै चर्चित र लोकप्रिय थियो ।
स्पाइडर म्यान फिल्म सिरिजमा टम होल्याण्डले पिटर पार्कर वा स्पाइडरम्यानको भूमिका निभाएका थिए । जेन्डाया उनको अपोजिट एमजे वाटसनको भूमिकामा थिइन् । यो जोडी मार्वल सिनेम्याटिक युनिभर्समा ‘स्पाइडर म्यानः होमकमिङ’, ‘स्पाइडर म्यानः फार फ्रम होम’, ‘स्पाइडर म्यानः नो वे होम’मा जोडीको रुपमा एकसाथ देखिएका थिए ।
उनीहरुको इंगेजमेन्ट क्रिसमस र नयाँ वर्षको बीचमा जेन्डायाको घरमा भएको अमेरिकाको चर्चित मनोरञ्जन म्यागजिन टिएमजेडले जनाएको छ । रिपोर्टका अनुसार आइतबार गोल्डेन ग्लोब्स अवार्ड कार्यक्रममा जेन्डाया इंगेजमेन्टको औंठी लगाएको अवस्थामा देखिएकी थिइन् ।
टम र जेन्डायाको भेट २०१७ मा रिलिज भएको फिल्म स्पाइडर म्यानः होमकमिङको सुटिङ सेटमा भएको बताइएको छ । यसको केही वर्षपछि २०२१ देखि मात्र उनीहरुले एक अर्कालाई डेट गर्न थालेका थिए । उनीहरुले इंगेजमेन्ट गरिसकेको भए पनि दुवैका धेरै हलिउड प्रोजेक्टहरु भएकोले उनीहरुको बिहेको मिति तय भइसकेको छैन ।
Facebook Comment