शक्तिशाली भूकम्पपछि सगरमाथा आधारशिविर क्षेत्र बन्द
काठमाडौं । नेपाल–चीन शीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि चीन सरकारले सगरमाथा आधार शिविर क्षेत्र बन्द गरेको छ । नेपाल सरकारको तर्फबाट भने यस विषयमा अहिलेसम्म कुनै आधिकारिक निर्णय भइसकेको छैन ।
मंगलबार बिहान तिब्बतको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा केन्द्रविन्दू भएर शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पको तीब्रता ७.१ म्याग्नेच्युड रहेको अमेरिकी जियोलोजिकल सोसाइटीले जनाएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टरले भने भूकम्पको तीब्रता ६.८ म्याग्नेच्युड रहेको बताएको छ ।
भूकम्पको केन्द्रबिन्दु २८.५ डिग्री उत्तरी अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको रिपोर्टमा उल्लेख छ ।
भूकम्पपछि जोखिमका कारण चीन सरकारले सगरमाथा (चोमोलोङमा) क्षेत्रमा सबै गतिविधि अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरेको चीनको सरकारी मिडिया चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जनाएको छ ।
सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टी क्षेत्रलाई सगरमाथा आधार शिविरको द्वार मानिन्छ । सगरमाथा नेपाल र चीनको सीमामा छ र सगरमाथा आरोहण लगायतका गतिविधिहरु नेपाल र चीन दुवै देशको तर्फबाट हुन्छ ।
Facebook Comment