गेटामा १० चिकित्सक पठाउँछौं, विशेष निर्णय गरेर असारदेखि एमबीबीएस पठाउन सकिन्छ : स्वास्थ्यमन्त्री

डिसी नेपाल
२३ पुष २०८१ १३:०२

धनगढी । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटा मेडिकल कलेजमा आगामी असारदेखि एमबीबीएसको पढाइ सुरु गर्न सकिने बताएका छन्। मंगलबार गेटा मेडिकल कलेजमा निर्माण गरिएका भौतिक संरचनाको स्थलगत निरीक्षण गर्दै पौडेलले उक्त कुरा बताएका हुन्।

‘चालू आर्थिक वर्षभित्रै ३०० शैय्याको अस्पताल सञ्चालन गरी आउँदो असारदेखि नै एमबीबीएसको पढाइ गर्न सकिन्छ। गेटाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)को तयारी थालिएको छ। नेपाल सरकारको ६२ करोड बढी रकम कर्मचारीका लागि मात्र खर्च हुने देखिएको छ। संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)को काम हुँदै गर्दा नेपाल सरकारबाट छात्रवृत्तिमा अध्ययन गरेका १० जना चिकित्सक तथा २० जना नर्सिङ कर्मचारीसहित प्राविधिकलाई चाँडै गेटा पठाउने छौं,’ उनले भने।

चिकित्सा शिक्षाको अध्यापनका लागि ३०० शैय्याको अस्पताल सञ्चालन भएको कम्तीमा तीन वर्ष पुगेको हुर्ने भए पनि विशेष निर्णय गराएर गेटामा एमबीबीएस पढाइ सुरु गर्न सकिने उनको भनाइ छ।

‘सुदूरपश्चिम बाहेकका ६ प्रदेशमा एमबीबीएसको पढाइ सुरु भइसकेको छ। यहाँ चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति भन्दै ३०० शैय्याको अस्पताल बन्ने वित्तिकै एमबीबीएसको पढाइ गर्न सकिने विशेष निर्णय गर्नसक्छ। त्यसतर्फ मेरो प्रयास रहने छ,’ उनले भने।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफू मन्त्री हुने बितिकै बोलाएर गेटामा अस्पताल र चिकित्सा शिक्षाको अध्यापनका लागि काम गर्नु भनेर निर्देशन दिएको समेत पौडेलले स्मरण गरे।

‘मेरो पार्टी सभापति (शेरबहादुर देउवा)ले पनि निर्देशन दिनुभएको छ। गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न र मेरो प्रदेशमा एमबीबीएसको अध्यापन सुरु गर्नूभन्नु भएको छ। हामीले पनि ओएनएम (संगठन तथा व्यवस्थापन सर्वेक्षण)को काम गर्दैछौं,’ उनले भने।

सुदूरपश्चिम प्रादेशिक अस्पताल सेतीले बिरामीको चाँप धान्न नसकेकाले गेटालाई बलियो बनाउनुपर्ने उनलेब ताए। नेपाल सरकारले आगामी आर्थिक वर्षमा गेटाका लागि बजेट विनियोजन गर्ने उनले जानकारी दिए।

गेटामा आकस्मिकसहितको बहिरंग (ओपिडी), प्रयोगशाला, एक्सरे सेवा सञ्चालनमा छन्। तर, मन्त्री पौडेलले रातिको समयमा चिकित्सक तथा स्वास्थ्य कर्मचारी गेटामा बस्ने नगरेको गुनासो आएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *