शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन दवाब सिर्जना आवश्यक : प्रचण्ड

डिसी नेपाल
२४ पुष २०८१ १३:५८

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन दवाव सिर्जना गर्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल बिषयक कार्यक्रममा प्रचण्डले केही राजनीतिक दलहरु शान्ति प्रक्रिया टुङ्ग्याउने पक्षमा नदेखिएको भन्दै दवाव सिर्जना गर्नुपर्ने बताएका हुन्।

सडकबाट दवाब भएर अवपनि शान्ति प्रक्रिया नटुंग्याए समस्या हुन्छ भन्ने नपारे अबको १८ बर्षसम्मपनि शान्ति प्रक्रिया टुंगन नसक्ने खतरा देखिएको प्रचण्डले बताए। उनले एकतावद्ध भएर शान्तिपूर्ण ढंगलले राजनीतिक नेतृत्वलाई दवाब बनाइराख्नुपर्ने अवस्था देखिएको बताए।

प्रचण्डले माओवादीलाई सिद्धाउनका लागि शान्ति प्रक्रियालाई नै रोक्ने प्रवृति देखिएको उल्लेख गरे। प्रचण्डले राजनीतिक कारणले नै शान्ति प्रक्रिया टुंग्याउन कठिन भएको टिप्पणी गरे।

त्यस्तै उनले पीडितहरुको साथमा आफू र माओवादी सदैव रहने बताए। शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन आफुले कांग्रेस र एमालेसँग छलफल गर्ने उनको भनाइ छ। उनले एमाले र अहिले प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै केही मान्छेहरुले माओवादीलाई सकाएरमात्रै शान्ति प्रक्रियाका बाँकी काम गरौंला भनिरहेको बताए ।

‘एउटा प्रवृत्ति नहोस् भन्ने छ, अझ कोही-कोहीको त विजनेस भइरहेको छ। किन टुंगिन परेको छ हामीलाई भन्ने प्रवृत्ति छ। एउटा राजनीतिक प्रवृत्ति अझ गम्भीर के छ भने माओवादीलाई तह लगाउने अब अन्तिम यही छ, किन टुङ्ग्याउनुपरेको छ र? माओवादी सिध्याएरमात्रै के गर्नुपर्छ अनि गरौंला भन्ने सोचका मान्छे र प्रवृत्ति पनि छन्। यो कुरा आवेग पनि होईन, सेन्टिमेन्ट पनि होइन। एउटा राजनीतिक प्रवृत्ति त्यस्तो छ। टुंगिन लागेको बेला रोक्छ त्यसले। माओवादी नेतृत्वलाई तह लगाउने, ठीक गर्ने र टुङ्ग्याउन हुँदैन भन्ने प्रवृत्ति छ। अग्निजी (अग्नि खरेल) ले जति राख्नु भयो, उहाँको सोच र इमानदारिता, उहाँले भन्न खोजेको कुराप्रति मेरो कुनै गुनासो छैन। तर, अग्निजीको एमालेमा चल्दैन। यो अर्को सत्य हो,’ उनले भने।

उनले आफू शान्ति सम्झौताको हस्ताक्षरकर्ता, क्रान्ति विद्रोह र जनयुद्धको नेतृत्वकर्ता हुनुको नाताले छिटोभन्दा छिटो यो विषय टुंगियोस् भन्ने चाहना रहेको बताए। प्रचण्डले यस विषय पछाडिको संवेदनशीलता, तीब्रता बुझ्न सक्नुपर्ने बताए।

आफूले यस विषयलाई लम्ब्याउनुपर्ने, लम्बिदिए हुन्थ्यो भन्नुपर्ने कुनै आधार, कारण र तर्क केहीपनि नरहेको बताए। आफूले पीडितहरुसँग बालुवाटारमा पटक–पकट पीडितलाई बोलाएर कुरा सुनेको पनि अध्यक्ष प्रचण्डले बताए । उनले आफ्नो कुारले पीडित र उनीहरुका परिवार कन्भिन्स पनि भएको बताए।

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी चयनका लागि गठित समितिले सिफारिस गर्न नसकी भंग भएको विषयलाई जोड्दै अध्यक्ष प्रचण्डले भने,‘अब त भयो भनेको फेरिपनि भएन। त्यो सिफारिस समिति पनि मेरै प्रस्तावमा बनेको सिफारिस समिति हो । तर, त्यहाँ धेरै चिजहरु भए । मैले अहिले ती सबै पोका फुकाउन आवस्यक पनि छैन।’

साथै, शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्याउन पीडितहरु सडकमा आउनुपर्ने हुनपनि सक्ने प्रचण्डको भनाइ छ। उनले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता आफैंमा राजनीतिक समझदारीका दस्तावेज रहेको बताउँदै ती सबै सम्झौताहरु संविधानको अंगको रुपमा मानिएको स्मरण गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *