विपिन जोशीको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्रीको आग्रह

डिसी नेपाल
२४ पुष २०८१ १६:१०

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन्।

परराष्ट्रमन्त्री राणासँग आज मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले नेपाली विद्यार्थी विपिनको अवस्थाका बारेमा जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन्।

हमास समूहले अपहरण गरी लगेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको भन्ने सूचना आइरहेकाले यस विषयमा मन्त्री डा राणाले इजरायली राजदूतसँग जानकारी लिएकी हुन्।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेका भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री डा राणाले राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गरेकी थिइन्।

सो भेटका क्रममा राजदूत बासले हमासको नियन्त्रणमा रहेका बृद्धबृद्धा, महिला तथा बालबालिका समेतका नाजुक स्वास्थ्य अवस्थामा रहेका नागरिकको रिहाइका लागि इजरायल सरकारले केही महिना अघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरुलाई नियन्त्रण मुक्त गर्ने तयारी भएको भन्ने सूचना आएको जानकारी गराएका थिए।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेकाे थियाे।

त्यसलगत्तै उनीहरुले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि रहेका छन्। उनीहरुमध्ये ३४ जनालाई मुक्त गर्न लागिएको तयारी हमास समूहले गरिरहेको समाचार आएको छ।
हमासले पहिलो चरणमा महिला, बालबालिका र बृद्धबृद्धाहरु अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएकाले विपिनलाई पनि रिहाइका लागि पहल गर्न नेपाल सरकारले आग्रह गरेको हो।

विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्ना कूटनीतिक प्रयास जारी राखेको छ। संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरुका साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय बैठकहरुमा समेत परराष्ट्रमन्त्री डा राणाले अन्तर्राष्ट्रिय समुदायलाई विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै आएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *