सूर्यदर्शन सहकारी ठगी पक्राउ : रविलगायतको मुद्दामा आज आदेश आउने सम्भावना कति?

डिसी नेपाल
२५ पुष २०८१ ६:५९

पाेखरा। सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ मुद्दामा आज आदेश आउने सम्भावना देखिएको छ। सो मुद्दाका सबालमा बादी प्रतिबादी दुवै पक्षको बहस सकिएको र आज सरकारी वकिल बहस गरेपछि आज आदेश आउन सक्ने देखिएको हो।

बुधबार मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको कानुन व्यवसायीको बहस सकिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए।

सोमबार र मंगलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गरेका थिए। यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए।

प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि बुधबारबाटै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ। त्यसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरु हुनेछ। जवाफी बहस सकिएपछि आदेश आउने छ।

थुनचेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ। यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान हिजो साँझ सकिएको थियो। राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन्।

आज सरकारी वकिलले जवाफी बहस गरे पछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *