जिल्ला अदालत कास्की जाने बाटोमा निषेधाज्ञा, कडा सुरक्षा घेराभित्र रविसहित सातै प्रतिवादी
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सातै प्रतिवादीविरुद्धको मुद्दामा बहस चलिरहँदा पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला अदालत कास्की जाने बाटोमा निषेधाज्ञा जारी गरिएको छ।
उच्च सुरक्षा व्यवस्थाबीच रविसहितका सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ। रवि लामिछाने, छविलाल जोशी, मिना गुरुङ, रामबहादुर खनाल, लीला पछाई, आरती गुरुङ र कृष्णबहादुर गुरुङविरुद्धको मुद्दामा यतिबेला सरकारी वकिलको जवाफी बहस भइरहेको हो।
न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी छ। मुद्दामा आजै आदेश आउने सम्भावना देखिएको छ।
बुधबार लामिछानेसहित सात प्रतिवादीहरूको कानुन व्यवसायीको बहस सकिएको थियो। सोमबार र मंगलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गरेका थिए। यसअघि प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए।
प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि बुधबारबाटै जाहेरकर्ताका तर्फबाट जवाफी बहस सुरु भएको छ। त्यसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरु हुनेछ। जवाफी बहस सकिएपछि आदेश आउने छ।
थुनचेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ। यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
Facebook Comment