सूर्यदर्शन सहकारी प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना
काठमाडौं। सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायतका प्रतिवादीहरुको थुनछेक बहस सकिएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा सुनुवाइ भइरहेको सो मुद्दामा सरकारी वकिलको तर्फबाट जवाफी बहस सकिएसँगै थुनछेकको प्रक्रिया पूरा भएको हो।
आज सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले जवाफी बहस गरेका थिए । सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका लामिछानेसहित कृष्णबहादुर गुरुङ, लिला पछाईं, छविलाल जोशी, रामबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङ पनि थुनामै छन्। उनीहरु सबैको थुनछेक बहस सकिएपछि न्यायाधीशले प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिए थिए।
गत पुस १६ गतेदेखि सुरु भएको थुनछेक बहस आज सकिएको हो। अदालत स्रोतका अनुसार उनीहरुको आदेश आजै आउनसक्ने सम्भावना छ। थुनछेक बहसस सकिएसँगै अब आदेश धरौटीमा रिहा वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश आउने छ।
यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान हिजो साँझ सकिएको थियो। राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन्।
Facebook Comment