सबै माओवादी एकठाउँमा बसेर जनयुद्ध दिवस मनाउँ भन्नेमा छुः विप्लव
महोत्तरी। जनयुद्वको विषयमा चौतर्फी चर्चा भइरहेको बेला माओवादीहरु एक ठाँउमा बसेर जनयुद्व दिवस मनाउन चाहेको नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लबले बताएका छन्।
जनयुद्वको रक्षाको लागि माओवादी एक भएर मात्र नहुने भन्दै अझै थुप्रै काम गर्न वाकी रहेको उनकाे भनाइ छ।
पार्टीको एक कार्यक्रममा सहभागी हुन् महोत्तरी आइपुगेका विप्लवले नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल ‘प्रचन्ड’ले केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीति प्रतिवेदनलाई लिएर भने असन्तुष्टि जनाए।
दुवै अध्यक्षको प्रतिवेदन संसदीय गोलचक्करमा घुमेको बताउँदै एकले अर्कोलाई आरोप लगाउने बाहेक केहीपनि नरहेको उनकाे भनाइ छ। तर माओवादी केन्द्रसँगको एकता प्रक्रियामा भने आफू नरम नै भएको बताउदै केन्द्रिय समितिको वैठकमा माओवादी केन्द्रले वनाएको कार्यदल स्वागतयोग्य भएको धारणा राखे।
‘हामी सधैंभरी तयार छौं तर माओवादी केन्द्रले नै चासो देखाएको छैन,’ उनले भने, ‘नेकपाले त उहिले नै एकताको विषयमा निर्णय गरिसकेको विषय हो।’
यो देशको समृद्वि उत्पादनवाट मात्र सम्भव भएको जिकिर गर्दै उत्पादन र क्रान्तिलाई सँगै लैजानुपर्ने विप्लवको जोड छ। उन्ले आफ्नो पार्टी अहिले उत्पादनवाट नै आत्मनिर्भर भईसकेको र दुई वर्षभित्र उत्पादनको क्रान्ति नै हुने बिस्वास व्यक्त गरेका छन्।
Facebook Comment