अर्थतन्त्र समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
तनहुँ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिएका छन्। बिहीबार तनहुँ महोत्सवलाई सम्बोधन गर्दे उनले कृषकको भलाइ र देशको आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिए।
तनहुँ राजनीतिक रूपमा मात्र नभई कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका रहेका सिंहले बताए। `नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन हामीले ऊर्जालाई व्यवस्थित गर्नुपरेको छ । कृषि उत्पादन वृद्धि गर्न तपाईं हामी सबैले जोड दिनुपर्छ भन्नेमा दुइमत छैन,´ उनले भने।
कोभिडले नेपालको अर्थतन्त्रमा असर पारे पनि अहिले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आएको र त्यसले रोजगारी सृजनासँगै अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको सिंहले बताए। महोत्सवले आर्थिक गतिविधि बढाउन, स्थानीय उत्पादनको बजारीकरण गर्न सघाउ पुग्ने उनको विश्वास थियो।
मन्त्री सिंहले वर्तमान सरकारको प्राथिमकता नागरिकको जिवीका सहज बनाउनु रहेको भन्दै त्यसका लागि सरकारले कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रको विकासमा विशेष ध्यान दिइरहेको बताए।
Facebook Comment