आगलागीमा हलिउड स्टारहरूका घर पनि जले, कमला ह्यारिसको घर खाली गरियो
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको जंगलमा लागेको आगो सहरसम्म पुगेको छ । मंगलबार भएको आगलागीबाट ३ दिनमा हालसम्म ४ हजार ८५६ हेक्टर क्षेत्रफल प्रभावित भएको छ । आगलागीबाट करिब ११ सय भवन पूर्णरुपमा जलेका छन् भने २८ हजार घरमा क्षति पुगेको छ ।
जंगलमा फैलिएको आगोका कारण अहिले ५ जनाको मृत्यु भएको छ । झण्डै ५० हजार मानिसलाई तत्काल घर छाड्न भनिएको छ । योसँगै करिब ३ लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रशासनले सहरमा संकटकाल घोषणा गरेको छ ।
जल्ने डरले लस एन्जलस (एलए) को ब्रेटनवुड क्षेत्रमा बनेको उपराष्ट्रपति कमला ह्यारिसको घर खाली गर्न निर्देशन दिइएको छ । लस एन्जलस अमेरिकाको सबैभन्दा धेरै जनसंख्या भएको काउन्टी हो। यहाँ १ करोडभन्दा बढी मानिस बस्छन्।
आगलागीले एलए सहरको पश क्षेत्र पालिसेड्समा रहेका धेरै हलिउड स्टारका बंगला जलेर नष्ट भएका छन् । पेरिस हिल्टन, जेमी ली कर्टिस, म्यान्डी मूर, एस्टन कुचर लगायतका धेरै हलिउड स्टारका घरमा आगलागी भएको छ । धेरै सेलिब्रेटीहरूले आफ्नो घर छोड्नु परेको छ।
बीबीसीका अनुसार क्यालिफोर्नियाको जङ्गलमा लागेको आगो जसरी फैलिरहेको छ, त्यसले हलिउड हिल्समा रहेको अमेरिकी फिल्म उद्योगको पहिचान ‘हलिउड बोर्ड’ पनि जलाउने डर छ । वास्तवमा, लस एन्जलसमा हलिउड नामको ठाउँ छ, अमेरिकी फिल्म उद्योगको नाम त्यसैको नाममा राखिएको छ।
Facebook Comment