कमिसनका लागि दे‍उवाले डडेलधुरामा विमानस्थल बनाउन खोजेको माधव नेपालको आरोप

डिसी नेपाल
२५ पुष २०८१ १५:५३

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अर्का पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कमिसन खान डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाएका छन्।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले ठेक्कामा कमिसन खान देउवाले डडेलधुरामा विमानस्थल बनाउन खोजेको आरोप लगाए।

‘अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरू कसैलाई। सुन्नुहोला, शेरबहादुरजीले। ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला। त्यो चल्छ त्यहाँ विमानस्थल? बैतडीमा चलिरहेको छ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन? के छ त्यसको हालत? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन? उदयपुरमा के आवश्यकता छ? किन बनाउनुपर्‍यो। भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ। सिधा त्यो कुराबाहेक अरू केही पनि होइन। अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ। यस्तै कुराहरूले पनि धेरै नोक्सानी भइरहेको छ,’ नेपालले भने।

विमानस्थल चल्न नसकेपछि त्यसको जिम्मेवारी निर्णय गर्नेहरूले लिनुपर्ने उनले बताए। एकातर्फ नेपाल वायुसेवा निगम घाटै घाटामा छ भन्ने अर्कोतर्फ आफ्नै जिल्लामा विमानस्थल बनाउन खोज्ने प्रवृत्ति राम्रो नभएको उनको भनाइ छ।

‘हामी नेपाल वायुसेवा निगम घाटामा छ भन्छौं। अर्कोतर्फ विशाल, विशाल बिल्डिङहरू बनाउँछौं। यो बिल्डिङ नबनाई नहुने स्थिति के थियो? अलि सस्तो मूल्यको बनाएको भए हुँदैन थियो, बनाउनैपर्ने भए पनि। यो अर्बौं अर्ब खर्च गरेर त्यसले के हुन्छ परिणाम? सरकारले अरू ठाउँमा पनि त्यही काम गरेको हुनाले हामीले त्यही सिको गरेका हौँ भन्ने होला। हाम्रो बानी पनि त्यही छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *