एमालेलाई कसैले भित्तामा टाँस्न सक्दैन, झिँगाले सरापेर डिँगा मर्दैन : अध्यक्ष ओली

डिसी नेपाल
२५ पुष २०८१ १६:५७

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व समाप्त पार्न अनेक प्रयास भए पनि अहिले सरकारकै नेतृत्व एमालेले गरिरहेको बताएका छन्। उनले पार्टीलाई कमजोर पार्न खोज्नेहरुको प्रयासलाई जनताले अस्वीकृत गरेको दाबी गरे।

बिहीबार च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उले स्ववियु निर्वाचनका सन्दर्भमा आफ्नो धारणा राखेका हुन्। ओलीले एमालेलाई “भित्तामा टाँसिदिने”जस्ता अभिव्यक्ति दिनेहरुलाई लक्षित गर्दै एमालेलाई देशको सबैभन्दा लोकप्रिय राजनीतिक दलका रुपमा चित्रित गरे।

उनले भने, ‘एमालेलाई सिध्याउन कराउनेहरुले अनेक प्रयास गरे। कोही भाला लिएर आएका छन्, कोही के बोकेका छन्। तर, चुनावपछि पनि एमाले खोज्न टर्चलाइट बाल्नुपर्ने अवस्था आएन। एमाले अझै बलियो छ।’

प्रधानमन्त्री ओलीले आफू इमान्दार र जनताको सेवामा समर्पित व्यक्ति भएको उल्लेख गर्दै आलोचकहरुको आरोपले एमाले कमजोर नहुने बताए। उनले नेपाली उखान प्रयोग गर्दै भने, ‘झिँगाले सरापेर डिँगा मर्दैन। प्रचारबाजी र भ्रम लामो समय टिक्दैन।’

फागुन १५ गते हुने अनेरास्ववियु निर्वाचनलाई महत्वपूर्ण बताउँदै गर्दै ओलीले यस निर्वाचनले एमालेसँग युवा शक्ति रहेको प्रमाणित गर्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले देशमा जनताको मन जित्न एमाले सक्षम रहेको र आलोचनाले पार्टीलाई कुनै असर नगर्ने दाबी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *