पृथ्वी जयन्ती विशेष

सर्वेसर्वा नठान सल्लाह लिन जान

खगेन्द्रराज सिटौला
२७ पुष २०८१ ७:२६

नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहले आफूलाई कहिल्यै सर्वेसार्वा ठानेनन्। उनले आफूलाई कहिल्यै सर्वज्ञाता पनि ठानेनन्। म राजा हुँ सबैभन्दा ठूलो हुँ यो सबैभन्दा ठूलो र उच्च पदलाई कसैको सल्लाहा र सुझावको जरुरत नै पर्दैन भनेर उनमा कहिल्यै सामन्ती अहंकारले ठाउँ पाएन।

पृथ्वीनारयण शाहले आफूमाथि कहिल्यै आफ्नो पद र सामन्ती अहंकारलाई हावी हुनै दिएनन्। पृथ्वीनारायण शाहलाई निजी स्वार्थ र लाभको लागि कुनै सल्लाहा चाहिएको थिएन। उनलाई सामुहिक हित सामुहिक जित र केवल वृहत राष्ट्रिय स्वार्थको लागि मात्र सल्लाह र सुझावहरु चाहिएका थिए।

उनले सही सुझाव र सल्लाहको शक्ति बुझेका थिए। एकपल्ट उनको दाहिने हात काजी कालु पाँडेको सुझाव नमान्दाको क्षति र गल्ति महशुस गरिसकेका थिए। हतारमा कीर्तिपुरमाथि हमला नगरौं भन्ने काजी कालु पाँडेको सुझाव सल्लहालाई बेवास्ता गर्दै उनले कीर्तिपुर माथि हमला गर्ने निर्णय गरे।

तर परिणाम गोर्खालीको नराम्रो पराजय मात्रै भएन कि काजी कालु पाँडेको ज्यान समेत गयो। यस पछि पृथ्वीनारायण शाह सल्लाह लिने पाएको सल्लाहा केलाउने र अनि निर्णय लिने गर्न थप गम्भीर भएका थिए।

सल्लाह लिन गद्दीबाट ओर्लेर धर्तीमा झर्नुपर्छ भन्ने मान्यता थियो पृथ्वीनारायण शाहमा। उनले व्यवहारमा यसै गरेका थिए। पृथ्वीनारायण शाहले राजगद्दीको उच्च आसन भन्दा जनसाधरणको विचारको आसनलाई उच्च सम्मान र महत्व दिएका थिए।

त्यसैले पृथ्वीनारायण शाह सत्ताको आसनबाट ओर्लेर विचारको धरोहरमा सल्लाह लिन चढेका थिए। प्रसंग पृथ्वीनारायण शाह र विषे नगर्ची सल्लाह हो। नेपाल एकीकरण अभियानमा लागेका तर असफलता हात लागेका पृथ्वीनारायण शाहले युद्ध जित्नको लागि गुणस्तरीय हतियारको आवश्यकता महशुस गरे। तर उनीसँग पूँजी थिएन।

पूँजी अभावले उनी छटपटी रहेका थिए। पूँजी जुटाउने कुनै भरपर्दो जुक्ति पनि उनीसँग निक्लिरहेको थिएन। पूँजी जुटाउने जुक्ति वा पूजी समेत फेला पर्छ कि भनेर पृथ्वीनारायण शाह गोर्खा दरबारको पुरानो सूचीकार विषे नगर्चीको घरतिर झरे।

यसरी सत्ताको दरबार विचारको घरबारतिर विनम्रतापूर्वक झ¥यो रुपैयाँ प्राप्त गर्ने उचित सल्लाहका पोका झार्न सकिन्छ कि भनेर। उनले पूँजीको आवश्यकता र समस्या विषे नगर्चीसँग राखे। उनलाई हतियार किन्न कम्तिमा पनि बाह्रहजार रुपैयाँ चाहिएको थियो।

विषे नगर्चीले निकैबेर अम्ला भाँची सोचिविचारी घर भित्र पसे र अमूल्य सल्लाहको पोको समेत लिएर आए। उनले राजा पृथ्वीनारायण शाहको हातमा रु एकको मोहर राखिदिए। पृथ्वीनारायण शाह रिसाए र भने तिमीसँग म रु एक चन्दा माग्न वा भीख माग्न आएको हो र विषे कतै ऋण दिने पैसा भएका साहु बुझेका छौ कि अथवा १२ हजार जुटाउने कुनै जुक्ति फेला पार्छौ कि भनेर यसो सल्लहा लिन पो झरेको हो त।

राजालाई अथवा गोर्खा राज्यलाई यो भन्दा ठूलो सहयोग र सल्लाहा के दिनु मैले? मेरो सल्लाह पाइसक्नुभो राजा अघि बढ्नुहोस् १२ हजार जुट्छ अथवा जुटिसक्यो। आश्चर्यमा नपर्नुहोस् महाराज गोर्खा राज्यमा बाह्रहजार घरधुरी छन्। सबैलाई राज्यलाई परेको आवश्यकता र समस्या भनेपछि मेरो जस्तै रु एक प्रतेक घरधुरीले दिनेछन् र बाह्रहजारको समस्या समाधान हुने छ महाराज। सल्लाहको शक्ति बुझेर नै राजा पृथ्वीनारायण विषे नगर्चीकोमा झरेका थिए।

विषेको जुक्तिले उनको १२००० को समस्या मात्र समाधान भएन नेपाल एकीकरणको बलियो आधार पनि बन्यो। सत्ताको दरबार भन्दा सल्लाहको घरबार बलियो हुन्छ भन्ने विश्वास बोकेर झरेका राजा पृथ्वीनारायण शाहलाई प्रजा विषे नगर्चीले पुष्टिको लालमोहर लगाइदिए।

पृथ्वीनारायण शाह महत्वपूर्ण कामको योजना बनाउँथे र कार्यन्वयनको तहमा लैजानु अघि आवश्यक व्याक्तिहरुसँग महत्वपूर्ण राय सल्लाह गर्थे। कोसँग किन सल्लाह लिनु पर्ने हो उनी जानकार थिए र ऐन मौकामा उनी सल्लाह लिइहाल्थे। यस्ता उदाहरण धेरै पाइन्छन्।

गोर्खाबाट नेपाल एकीकरण अभियान अगाडि बढाउने अठोट लिएपछि पृथ्वीनारायण शाहले लिएका केही प्रतिनिधिमूलक सल्लाहलाई आधार मानेर हेर्दा खेरि पनि उनी एकलै निर्णय गर्दैनथे भन्ने कुराको पुष्टि हुन्छ। केही उदाहरण हेरौं।

“रणजित बस्न्यात्, मानसिंह रोकाहा, वीरभद्र पाटक मैधिमा रात दिन गरी आई पुक भनी लेषी पठाञा र आइपुगे र तिन छेउ यकान्त गर्‍या भने दिकबन्दनसेन सित हाकं दि आञा. नेपाल पनि देषी आञा.हान्नाको मनसुवा पनि राषी आञा तिमीहरु क्या भन्छौ, भनि मैले भन्दा हान्नुहवस् महाराजा भने र सल्लाह दिया र मैले भने म जसै अर्कोको छत्रभङ्ग म जान्छु मेरो छत्रभङ्ग अर्को आयो भन्या कसो होला भनि मैले भन्दा हजूरको हात्रि हउवा ई वाईस.चौविसि आयो भन्या चेप्यामा रगतको नदी बहाउला महाराजा भन्या र र यकान्तबाट उठी गोर्खा गयउ ”।

यहाँ पनि देखिन्छ पृथ्वीनारायण शाहले अघि पछि संभावित परिस्थितिको विश्लेषण गर्दै आक्रमण र प्रतिरक्षाबारे उनले मनले खाएका व्याक्तिहरुसँग आवश्यक गोप्य सल्लाह लिएका छन्। उनी आदेशमा होइन सल्लाहमा विश्वास गर्दथे भन्ने देखिन्छ। उनी विश्वास पनि जित्थे र सल्लाह पनि लिन्थे।

त्यसरी नै पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान अघि बढाउने निश्चय गरेपछि के गर्दा कस्तो रणनीति बनाउदा र आफूसँग भएका मध्ये कुन जातका सेना परिचालन गर्दा बढी सफलता हात लाग्छ भनेर आफ्ना मामासँग पनि सल्लाह लिएका थिए।

मामाबाट पाएको सल्लाह पृथ्वीनारायणको नेपाल एकीकरण अभियान अघि बढाउन सार्थक भएको थियो। यसरी पृथ्वीनारायणले हरेक सल्लाहलाई शक्तिमा रुपान्तरण गरेको पाइन्छ। मामाको सल्लाह बमोजिम पूर्वतिर बढ्दा पश्चिमतिरका राज्यहरुसँग मित्रता कायम गरेका थिए।

यदि त्यसो नगरेको भए पश्चिमतिरबाट गोर्खामा हमाला भएको भए पूर्वतिरको उनको अभियान सफल हुन सक्तैनथ्यो। त्यसरी नै काजी याने प्रधानमन्त्रीको जिम्मेवारी दिने सन्दर्भमा पनि उनले जनतासँग सल्लाह मागेका थिए। “ कालु पाँडेलाई कजाई दिनु भया हामी दुनियादारमा छहारी रहँदो हो भन्या सल्लह दिया ”।

“बाइसी चौविसीबाट पनि कालु पाँडे कै चाहा रहेछ र कालु पाँडेलाई कजाञी भया घाहा घराइस बलियो राषन्यै छ भन्ने सल्लाह दिया”। यसबाट देखिन्छ कि पृथ्वीनारायण शाहको व्यापक क्षेत्रबाट सल्लाह लिन्थे र उचित लागेमा कार्यान्वयन पनि गर्दथे। यहाँ पनि उनले आफ्नो निजी शक्ति र स्वार्थको लागि सल्लाह मागेको देखिँदैन।

जनसाधरणको अमनचैनको चाहना र भावनालाई एकतिर कदर गरे भने अर्कोतिर छिमेक सम्बन्धलाई राम्रो बनाउन छिमेकको चाहनालाई पनि सम्वोधन गरे। अर्थात उनले दुबैतिरका सल्लाहलाई सम्मान र सम्वोधन गरे।

पृथ्वीनारायणले सल्लाहा किन्नु परेको थिएन अहिलेका जस्ता जागिरे सल्लाहकारबाट। पृथ्वीनारायणले राज्यको हित र जितलाई केन्द्रमा राखेर सल्लाह खोजेको हुन्थे। र उनले जोबाट सल्लाह खोजेका हुन्थे उनको समस्या समाधान गर्न सहयोगी हुने किसिमले मनैदेखि समर्पित भएर लागेको सल्लाह दिन्थे।

जागिरे सल्लाहकारको त कुनै भरै हुदैन। अहिलेका सल्लाहकार त निजी स्वार्थलाई ध्यानमा राखेर पनि सल्लाह दिन सक्छन्, विदेशी स्वार्थलाई ध्यानमा राखेर सल्लाह दिन सक्छन् पैसा मात्रै सबैथोक ठान्नेहरुले पैसालाई हेरेर यसो गर्न सक्छन्।

दलका सल्लाहकारहरुले दलको वा गुटको मात्र हितलाई हेरेर सल्लाह दिन सक्छन्। सल्लाह लिने ले पृथ्वीनारायण शाहबाट सिक्नुपर्दछ। सल्लाह केलाउन जान्नु पर्दछ। राज्यको, अथवा देश र जनताको हित गर्ने बाहेकका सबै सल्लाह सुझाव मिल्काउन सक्नु पर्दछ।

पृथ्वीनारायण शाह जस्तो सल्लाह दिने खोज्न र रोज्न जान्नु पर्दछ संकिर्ण घेराको बन्दी बन्नेहरुले कहिल्यै सहि सल्लाह लिन सक्तैनन्। झन त्यस्ताले त उचित सल्लाह दिनै सक्तैनन्।

पृथ्वीनारायण शाहले त्यति सजिलै एकल प्रयाशले मात्र नेपालका राष्ट्रनिर्माताको अमर र गरिमामय पद प्राप्त गरेका होइनन्। यसमा धेरैको बौद्धिक सल्लाहको योगदान छ, धेरैको शारीरिक वलिदानको योगदान छ र धेरैको भौतिक सहयोगको योगदान छ।

कोबाट के लिने र कसलाई के जिम्मेवारी दिने र केको लागि परिचालन गर्ने योग्यता र खुबी र कुशलता चाँहि नेतृत्वको नै हो। पृथ्वीनारायण शाहको यही कुशलता र खुबी कै कारणले सार्वभौम स्वतन्त्र सुन्दर नेपाल भनेर गर्व गर्न पाएका छौं। पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता मात्र होइनन् उनी नेपालका मूल सल्लाहकार पनि हुन्।

उनले हामीलाई नेपाल जोगाउने र जगाउने उपाया सहितको सर्वकालिन उपयोगी भइरहने मूल सल्लाह दिएका छन्। यही नै नेपालको मूलबाटो हो। भूलबाटोले हामीलाई विनास मात्र दिन्छ सबैलाई चेतना भया।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *