पृथ्वीनारायणलाई कसरी बुझ्ने ?
पृथ्वीलाई गोरखाका नरेश, नरभूपालका छोरा, ज्ञानेन्द्र शाहका पुर्खा, रणबहादुर शाहका हजुरबुबाका रुपमा होइन त्यही समयमा पुगेर, त्यही युगको तुलोमा जोख्नुपर्छ। उनका कर्मलाई विशाल नेपालराज्य खण्डहर भइरहेको, अंग्रेजले निल्न मुख बाएको, आपसी राजाहरु जुधिरहेका अवस्थालाई बुझेर मूल्यांकन गर्नुपर्छ।
पृथ्वी योद्धा हुन्, उनले राजधर्मलाई पालन गरे, मुलुकको संस्कृतिलाई संरक्षण गरे, मौलिकतालाई मलजल गरे, यहाँ पलाएका विचारहरुको पालनपोषण गरे। धादिङमा रहेकी सल्ल्यानदेवीको मन्दिरभित्र गएर पूजा गर्न नमिल्ने पूजारीले बताएपछि बाहिरबाट अनुष्ठान गरे।
पशुपतिमा पञ्चामृत चढाउने व्यवस्था मिलाए उपत्यका र त्यस पूर्वमा नेपालको झण्डा फहराउँदा पनि त्यहाँका संस्कार, पर्व, गुम्बामाथि अतिक्रमण गरेनन्। संस्कृतिसँग जीवन, पर्वसँग पहिचान, पूजासँग आत्मगौरव, समाजले इतिहास जोडिएको तथ्य उनलाई अवगत थियो। उनले गोरखाको उत्तरभेगमा रहेका गुम्बाको मात्र होइन खानचोकका इस्लाम, उपत्यकाका इसाई, पूर्वका किरातलाई नमन गरे।
सबै जात, धर्म र वर्णको समुच्चयले राष्ट्र बलियो हुने तथ्य अनुभूत गरेका थिए। राम शाहकी आमा सल्यानदेवी तथा राम शाहकै श्रीमती मनकामनाप्रति पृथ्वीको अगाध विश्वास, श्रद्धा र भरोसा थियो। उनकी जेठीआमा चन्द्रप्रभाले दिएको शिक्षा र संस्कारअनुसार उनी सर्वधर्म, सबै जात र वर्गका जनतासँग समभाव राख्थे।
यही कारण उपत्यका जित्दै गर्दा कुमारीको पूजा गरे, कीर्तिपुरका बाघभैरवप्रति श्रद्धा अर्पण गरे, नुवाकोटमा रहँदा नुवकोटकी त्रिपुरासुन्दरी र नुवाकोटभैरवीमा अतुलनीय भक्तिभाव दर्शाए। पृथ्वीको निर्देशन थियो- “विदेशी नाचगानको प्रयोग गर्नुहुन्न। यसो गर्दा नगद बाहिर जान्छ, राष्ट्रको भेद खुल्छ बरु उपत्यकाभित्रको नेवारहरूको नाचगान झिकाई मनोरञ्जन लिनुपर्छ।”
आज नेपालीभाषा, धर्म, संस्कृति, सम्पदाभित्र परधर्मीहरुबाट हस्तक्षेपलाई भइरहेको छ, विदेशी राजनीति र धर्मले ताण्डव देखाइरहेको छ तर यहाँका शासकको नजरले देख्दैन। आफ्नो भाषा बोल्दैन, मौलिक नाचगान घीन लाग्छ, आफ्नो कुललाई पुज्दैन, मूललाई चिन्दैन अर्थात् आफ्नो छैन।
कर्खा, बालुन, भजनका अवशेष कतै देख्न पाइन्छ। आफ्नो माटो र पुर्खाको महत्वलाई संरक्षण गर्न पृथ्वीले सांकेतिक रुपमा भने- “यो देश सबैको साझा फूलबारी हो….. आ-आफ्नो आस्थाअनुसारको धार्मिक आचरण गर्नु। आ-आफ्नो कुलधर्म नछोड्नु”।
नेपाल एकीकरणका लागि मुसलमानलाई गोरखा ल्याएर राखे तर धार्मिक द्वन्द्व भएन, सामाजिक सद्भाव भड्किएन। वनारसमा रहँदा पश्चिमाको रणनीति देखेका पृथ्वीले उपत्यकाका क्रिश्यिनहरुले राज्य हडप्ने उद्देश्यले समाज भाँड्ने काम गरेपछि मात्र नेपालबाट निकाला गरे। उनी धर्मान्धता र असहिष्णुतामा होइन समन्वयवादी भएको स्पष्ट हुन्छ। उनको चोरेऔँलाले यही बताइरहेको छ।
उनले भने-आफ्ना कुलधर्म नछोड्नु। कुल र मूल छोडेमा देश अघि बढ्न सक्दैन, गृहकलहको स्थितिमा फस्न बेर लाग्दैन, आफ्नै अस्तित्व जोगाउनसमेत मुस्किल पर्छ। भारतका राजाहरु एकता नभएकने कारण बेलायती साम्राज्यवादीहरूको चङ्गुलमा परी कैयौँ देश उपनिवेशमा परे।
मन्दिर र पूजारीका लागि गुठी, एकीकरणमा जीवन गुमाउनेका लागि बिर्ताजग्गा राखिदिएको, युद्धमा जानुपूर्व खड्गनिशानाको पूजा गर्ने, जयगोरख, जयकालीको आवाज धन्काउने क्रियाकलापले पृथ्वीनारायणको सांस्कृतिक दृष्टिकोण प्रष्ट छ। केही क्रिश्चिउन पादरीहरूले अशिक्षा र गरिबीको आडमा लालिपप बाँडेर नेपालीलाई फसाउने बुझेका पृथ्वीनारायणले युरोपियन पादरीहरूलाई लखेटे।
लडाइँको शुभ साइतका लागि मङ्गलधुन बजाई गोरखालीसेनाको आकांक्षा साकार पार्ने नगर्चीहरुलाई सधैँ सम्मान गरे। कालु सार्कीलगायतले युद्धमा सैनिकले लाउने छालाको टोपी, तोपको दाप, धनुकाँड, खुँडा, खुकुरी सुरक्षित राख्ने झोला, बन्दुक बोक्ने पेटी आदि छालाका सामग्री निर्माण गरे।
जसवीर कामीलगायतले गोल तयारी गरी खुँडा, खुकुरी, तरबार, कटारी, छुरी, भाला, धनुकाँड जस्ता युद्धका सामग्री तयार गरे। मनिराम गन्धर्वले गीत गाउने निहूँमा अन्य राज्यबाट गोप्य सूचना, बाटोको जानकारी आदि लिएर आउँथे। पृथ्वीनारायणले भेखाजंग विश्वकर्मा (कामी) लाई बनारसबाट ल्याए।
विदेशीबाट सावधान हुने, राष्ट्रहितमा ध्यान टक्सार चोखो चलाउने पृथ्वीनारायण शाहको आशयले उनी राजधर्मका कट्टरवादी रहेको बुझाउँछ। धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताद्वारा राष्ट्र मजबुत पार्ने अभिलाषा रहेको स्पष्ट हुन्छ।
राजा महेन्द्रबाहेक पृथ्वीनारायणको बाटोमा उनका वंशजमात्र होइन नेपालको कुनै तन्त्र, वाद र राजनीतिकर्मीहरु हिँडेनन्। पृथ्वीनारायण राजामात्र थिएनन् एक राजनीतिक विचारक, पथप्रदर्शक र आधुनिक नेपालका जनक थिए। उनीबाट पढेका भए वा उनलाई पढेका भए वर्तमान सरकारको साख यति गिर्ने थिएन।
उनीलाई बुझ्न छोडेर बजाउने, भड्याउने र अतिक्रमणकारी, सामन्ती, अन्य जातिमाथिको आक्रमण दुष्प्रचार गर्ने समूह तयार गरियो। राजा ज्ञानेन्द्रको रिस र पारससँगको प्रतिशोध उनैलाई खन्याइयो।
उनले विदेशी नाचगानभन्दा तीन शहर नेपाल (काठमाडौँ, पाटन, भक्तपुर) का नाचगान झिकाएर हेर्न लगाए, कुमारी पूजालाई निरन्तरता दिए, बौद्ध र स्वयम्भू स्तुपलाई उजाडेर गोरखनाथ र आलमदेवीको मन्दिर बनाएनन्।
पृथ्वीनारायणलाई पृथ्वीनारायणकै समयमा गएर, पृथ्वीनारायणकै दृष्टिले हेर्नुपर्छ। पृथ्वीनारायणलाई चिन्न उनको जरा, काण्ड र हाँगालाई बुझ्नुपर्छ, गोरखालाई सोध्नुपर्छ, नुवाकोटसँग जानकारी लिनुपर्छ, उपत्यकाको बयान सुन्नुपर्छ।
Facebook Comment